अमरगढी पोष्ट समाचार
काठमाडौँ,फागुन १० गते । कांग्रेसका नेता डा। शेखर कोइरालाले राज्य एमालेकरण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस पार्टी कमजोर बन्दै गएको र सरकार पनि एमालेकरण हुँदै गर्दा सचेत बन्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस सांसद कोइरालाले राज्यको एमालेकरणलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नुपर्ने बताए । ‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो । २०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरूले साथीहरूलाई भेट्दा, कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्यो, कोइरालाले भने,दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ, राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ कि भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ ।
मन्त्रीहरूले सरकारमा सहकार्य गर्नुपर्ने सांसद कोइरालाको भनाइ थियो । तर, कार्यकर्ताहरूले सरकारलाई दबाब दिइराख्नुपर्ने उनले बताए । मन्त्रीहरूले सहकार्य गर्ने हो त्यसमा कुनै शंका नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ,उनले भने । सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताएका हुन् ।
कोइरालाले अहिले कांग्रेस कमजोर भएको दाबी गर्दै महाधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाए । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेतारकार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।
