माउन्टेन बोडिङ स्कुलको बार्षिक उत्सब सम्पन्न
विज्ञान प्रदर्शनी सांस्कृतिक कार्यक्रम तथा फुड फेस्टिवल
लोकेन्द्र ओझा
डडेल्धुरा,फागुन १० गते । कला कौशल विज्ञान प्रदर्शनी , सांस्कृतिक तथा फुड फेस्टिवल शनिबार सम्पन्न भएको छ। डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको माउन्टेन माध्यमिक विद्यालय बागबजार डडेल्धुराले एक भव्य कार्यक्रमका साथ कला कौशल विज्ञान प्रदर्शनी सांस्कृतिक तथा फुट फेस्टिवल सम्पन्न गरेको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न प्रकारको सामग्रीहरूको प्रयोग गर्दै कला कौशल विज्ञानको प्रदर्शनी गरेका छन् । यस्तै फुट फेस्टिवल अन्तर्गत खाना तथा नास्ताका विभिन्न परिकारहरू सुदूरपश्चिमको प्रसिद्ध माडारोटी, सेल , पुरी संगै नास्ताका विभिन्न परिकारहरू विद्यार्थीहरूले नै तयार पारी फुड फेस्टिवल अन्तर्गत बिक्री वितरण गर्दै व्यावसायिक अनुभवसमेत प्राप्त गरेका छन्। सांगीतिक कार्यक्रम अन्तर्गत चर्चित कलाकार रमेश मल्लले आफ्ना प्रस्तुति मार्फत सम्पूर्ण अतिथि तथा अभिभावक र विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए । कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जोशीले पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स को बढ्दो प्रभाव विश्वव्यापी रूपमा परेकाले नेपालमा पनि यसको प्रभाव पर्ने बताउनुभयो ।

उहाले भन्नुभयो भोलिको दिनमा ३० प्रतिशत काम प्रविधिले गर्नसक्ने हुँदा अहिलेको जनशक्तिले प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने जानकारी दिनुभयो । अबको बजारले दक्ष जनशक्ति खोज्ने भएको हुँदा कुन विद्यालयमा अध्ययन गरेको हो त्यसले त्यति धेरै अर्थ राख्दैन बजारमा आउने जनशक्ति दक्ष एवं प्रविधिसँग लड्न सक्ने उत्पादन हुनुपर्दछ। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो दक्ष जनशक्ति उत्पादन गर्नका लागि यस विद्यालय परिवारले निकै मेहनत गरिरहेको देख्न सकिन्छ। शैक्षिक संस्थाहरूले बौद्धिक जनशक्ति उत्पादन गर्ने र त्यो दक्ष जनशक्तिलाई आफ्नै देशमा परिचालन गर्ने हो भने मात्रै देश समुन्नत बन्न सक्छ। अहिले नेपालको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न उद्योग, कृषि, पर्यटन , जडीबुटी, जलस्रोत लगायतका प्राकृतिक स्रोत साधनको अत्याधिक प्रयोग गर्नुपर्ने देखिन्छ र यसका लागि शैक्षिक क्षेत्रबाट आउने जनशक्तिहरू प्राविधिक जनशक्ति हुनुपर्नेमा जोड दिनु भयो।

कार्यक्रमका अधिकांश वक्ताहरूले विद्यालयले विगतदेखि थालनी गरेको कला कौशल विज्ञान प्रदर्शनी सांस्कृतिक तथा फुट फेस्टिवल जस्ता कार्यक्रमहरूले शैक्षिक गुणस्तर एवं अभिभावकको मन जितेको बताउनुभयो । यस विद्यालयको आफ्नै एउटा गर्बिलो इतिहास रहेकोहुदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न र यसलाई कायम राख्न आवश्यक रहेको जानकारी दिनुभयो । माउन्टेन माध्यमिक विद्यालय डडेल्धुरा जिल्लाको समग्र संस्थागत विद्यालयहरूको नेतृत्व गरिरहेको समेत कार्यक्रमका वक्ता हरुले बताए। उक्त कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी , जनप्रतिनिधि, गैरसरकारी संस्था का प्रतिनिधि , अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद जोशीले गर्नुभएको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारी र डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने रहनुभएको थियो। कार्यक्रमको सञ्चालन माउन्टेन माध्यमिक विद्यालयका नेपाली शिक्षक करण साउद ले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, समाजमा विशेष योगदान पुर्याएका व्यक्ति, पत्रकार, कलाकार, अभिभावक, विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरू लाई समेत सम्मान गरिएको विद्यालयका प्रिन्सिपल महेश महराले जानकारी दिनुभयो ।

