लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, २० गते । डडेल्धुरामा कम उमेरमै सुत्केरी हुने दरमा सुधार आएको छैन । आर्थिक वर्ष २०८१÷८२ को साउनदेखी माघ महिनासम्मको विवरणअनुसार जिल्लामा कम उमेरमा सुत्केरी हुने महिलाको संख्या अझै उच्च रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्म कुल १२ सय ६४ जना महिला सुत्केरी हुँदा १५४ जना महिला २० वर्ष भन्दा कम उमेरका छन । यो संख्या लगभग १२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनक चन्दले बताउनुभयो ।
जसमध्ये नवदुर्गा गाउँपालिकाका ७ जना, अमरगढी नगरपालिकाका ८३, अजयमेरु गाउँपालिकाका ९,भागेश्वर गाउँपालिकाका २, परशुराम नगरपालिकाका ३५, आलिताल गाउँपालिका ११ र गन्यापधुराका ७ जना गरि १ सय ५४ जना २० वर्ष भन्दा कम उमेरका महिला स्वास्थ्यसंस्थामा सुत्केरी भएका छन ।
१ सय ५४ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुँदा ३९ जना घरमै सुत्केरी भएका छन । घरमै सुत्केरी हुने महिला सबै २० बर्ष माथिका रहेका छन । जसमा अमरगढीका २, भागेश्वरका ५, परशुराम २३ र आलितालका ९ जना रहेका सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।
कम उमेरमा बच्चा जन्माउँदा आमा र नवजात शिशु दुवैको ज्यान जाने जोखिम रहने गर्छ । महिला कम उमेरमा सुत्केरी हुनेक्रम नरोकिएकाले मातृशिशु मृत्युदर घटाउन चुनौती भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
सूचना अधिकारी चन्दले २० वर्षमुनिमै सुत्केरी हुने कार्यलाई शून्यमा झार्नका लागि सरकारी सहित विभिन्न निकायले अझै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।


