लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र,२६ गते । सुदुरपश्चिमेलीको ठूलो चाड विसु पर्ब नजिकिएको छ । विसु पर्व आउनु पूर्व नै सुदुर पहाडमा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ ।
विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको पण्डीत करुणाकर अवस्थीले बताउनुभयो ।
पहाड तिरका परम्परागत शैलीमा ढुङ्गा र माटोबाट बनेका घरहरुमा कमेडो र रातोमाटोको प्रयोग हुने गर्छ । चैत्र महिना सुरु भए देखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत्र महिनामा नै सक्नु प्रर्छ ।
पाटन नगरपालिका १० का सिता भट्टले लगभग तिन गण्टा हिनेर कमेडो र रातोमाटो लिएर घर लिपेको बताउनुभयो । हामि धेरैेजना (गाउँले )मिलेर बिहानै कमेडो लिन झण्डै ३ घण्टाको उकालो र आघा घण्टाको ओरोलो बाटो भएर बेसरा गयौ सेतो माटो –कमेरो) राम्रो त्या मात्रै पाईन्छ, कमेरोले घर पोत्दा चिटिक्क देखिन्छ सधै त्याहिबाट ल्याउने गछौ अहिले पनि त्यहिबाट ल्याएर लिपेको उनले सुनाउनु भयो ।
भट्टका अनुसार बेसराबाट ल्याएको कमेडो र हतासबाट ल्याएको रातोमाटोले हरेक चैत्रमा घर लिप्ने गरीन्छ । कमेरो र रातोमाटोले घर लिपपोत गर्दा चिटिक्क देखिन्छ । पछिल्लो समयमा भने घरहरु सिमेन्टबाट बन्न थालेपछि र ढुङ्गा र माटोबाट बनेका पुराना घरहरुको पनि माटो उप्काएर सिमेन्टको प्लस्टर गर्न थालिएपछि भने कमेरो र रातोमाटोको ठाउँमा बजारिया रङको प्रयोग हुन थालेको छ ।
चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको स्मरण गर्नुहुन्छ पाटन ८ का लक्ष्मी भट्ट । “बरु दसैको बेलामा खासै लिप्दैनौ चैत्रमा त जसरी नि लिप्नु प्रर्छ । कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ । नयाँ बर्ष तथा बिषु पर्बमा भारत गएका फर्किने, सहरबजार पढ्न गएका विद्यार्थीहरु र रोजगारीमा गएका व्यक्तिहरु फर्किने गर्छन । बढी जसो कामका लागि भारत गएकाहरू विसु पर्व मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ ।
नयाँ वर्ष अर्थात विसु पर्व मनाउनकै लागि कामको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ । विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने चलन पनि छ ।



