लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ५ गते । कञ्चनपुरको दैजी हुँदै डडेल्धुराको भित्री मधेश जोड्ने सडक निर्माण ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा पनि काम अधुरै रहेको छ ।
२०७४ साल वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि हालसम्म ९ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । निर्माण कार्यमा ढिलाइ भइरहेपछि हालसम्म पाँच पटक म्याद थपिएको छ ।
पछिल्लो पटक २०८२ साल असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
सडक निर्माण सम्पन्न नहुँदा डडेल्धुराको भित्री मधेशका स्थानीयले महेन्द्रनगर जान अहिले पनि अत्तरिया हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
परशुराम नगरपालिका–९ का वडा अध्यक्ष देवबहादुर बोहराका अनुसार सडक निर्माण नहुँदा स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन नसक्दा आर्थिक क्षति बेहोर्नुपरेको छ । “सडक भइदिएको भए यहाँका दाल, तरकारी, फलफूल महेन्द्रनगर लैजान सहज हुन्थ्यो,” उनले भने । स्थानीय राम धामीका अनुसार निर्माण सुरु हुँदा बनाइएका नाला (ड्रेन) समेत सरोकारवाला निकायको बेवास्ताका कारण पुरिन थालेका छन । उनका अनुसार सडकको अवस्था हेर्दा निर्माणकार्यप्रति सरकारी चासो कमजोर देखिन्छ । यो सडक डडेल्धुराको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्ने छोटो दूरीको विकल्प हो, जसले भीमदत्त राजमार्गको वैकल्पिक मार्गको रूपमा महत्व राख्दछ । ठेकेदार कम्पनीलाई हालसम्म १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । तर निर्माण भने अझै अपूरो नै रहेको छ ।
