लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ६ गते । डडेल्धुरामा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–४ टुँडिखेलमा मंगलबारबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिह भण्डारीले गर्नुभएको थियो ।
खेलकुदमा भाग लिँने सबै खेलाडीहरुले अनुशासित भएर आफ्नो कला र पर्दशन गर्नका लागी खेलाडीहरुलाई समन्वय प्रमुख भण्डारीले आग्रह गर्नुभएको छ ।
खेलकुद क्षेत्र राष्ट्रको पहिचान भएको र खेलाडीहरुको सम्मान गर्न सबै तहका सरकारले गर्नुपर्नेमा जोड दिनुहुदै उहाँले खेलाडीहरु अनुशासित र मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ । टोली छनोट गर्दा उत्कृष्ट खेलाडीलाई मात्रै छनौट गर्न रेफ्री र अम्पायरलाई उनले निर्देशन दिनुभयो । उनले सीमित स्रोतसाधनका बाबजुत प्रतियोगिता सञ्चालन गर्नुपरेको बताउनुभयो । टुँडिखेलमा भइरहेको प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगायतका खेलहरू खेलाइँदैछ । प्रतियोगिता मंगलबार र बधुबार चल्नेछ ।
जिल्लास्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
