मानबहादुर साँउद
डडेल्धुरा,असार ३ गते । बैंकिङ्ग कसुरमा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिसिह पालीको उपचारको क्रममा मृत्यु भएको छ ।
भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीलाई बैंकिङ्ग कसुर अन्र्तगत मुद्धा लागेपछि कैलाली कारागारमा रहेका थिए । उनको स्वास्थ्यमा गडबढी देखिएपछि अस्पालतमा उपचार गर्ने क्रममा मृत्यु भएको छ। एनको शरिरका बिभिन्न भागमा निलडाम रहेकाले उनीमाथी कुटपिट भएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार, उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो ।
मृतकका काका पदम सिंह पालीका अनुसार, प्रहरी नायब निरीक्षक हरिजित नाथले पहिले नै बारम्बार रकम माग्दै आएका थिए । उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी ’बार्गेनिङ’ गरेर छोडेको उल्लेख गर्दै पछिल्लोपटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित यातना दिइएको आरोप लगाएका छन । “असार २ गते मात्र हामीले हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेका थियौँ,“ पदम सिंहले भने, “तर त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो । उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उनको शवमा कुटपिट गरेको निलडाम रहेको भिडियो बाहिरिएको छ । आफन्तहरूले जबसम्म सत्य खुल्दैन र दोषीलाई कारबाही हुँदैन तबसम्म शव नउठाउने बताएका छन । प्रहरीले भने पाली बिरामी भएपछि अस्पताल लगिएको दाबी गरेको छ । तर, सिसिटिभी फुटेज माग्दा अहिलेसम्म उपलब्ध नगराएको आफन्तहरूको भनाइ छ । यसबाट प्रहरीकै संलग्नतामा हत्या भएको शंका थप बलियो भएको उनीहरूको दाबी छ । हाल पालीका परिवारजन कानुनी प्रक्रियामा जाने तयारीमा छन । मृतकका श्रीमती र एक छोरा रहेका छन । घटनाका बिषयमा चौतफी बिरोध भईरहेको छ । आर्थिक मन्दीका कारण समयमै साहुको पैशा तिर्न नसकेको होला तर ज्यानै जाने गरि हिरासतमा लिएर मृत्यु भएको घटनाको बास्तबिक छानबिन गरेर दोशीउपर कानुनी कारबाही गरिनुपर्नेमा ब्याबसायीहरुको जोड छ ।
