लक्ष्मी ऐर
डडेल्धुरा,असार ६ गते । यो वर्षको मनसुनसँगै सुदूरपश्चिम प्रदेशभर प्राकृतिक विपद्को उच्च जोखिम देखिएको छ । सरकारी पूर्वानुमान अनुसार ५२ हजारभन्दा बढी घरपरिवारका करिब २ लाख २८ हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । डडेल्धुरामा मात्रै १३ हजार ५ सय घरपरिवार जोखिममा छन । तर, जिल्लाको प्रमुख स्थानीय तह अमरगढी नगरपालिकाले अहिलेसम्म पनि अनुमानित प्रभावितहरूको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउन सकेको छैन । नगरपालिका इन्जिनियर कविन्द्रराज भट्टले विपद् मूल्यांकनका लागि आवश्यक प्राविधिक जनशक्ति अभाव भएको बताउनु भएको छ ।
डडेल्धुराका सात स्थानीय तहहरूमध्ये सबैभन्दा बढी जोखिममा आलिताल गाउँपालिका रहेको छ । जहाँ ७ हजार ८५३ घरपरिवार प्रभावित हुने अनुमान छ । अन्य तहहरूमा परशुराम नगरपालिकामा ३ हजार ९५१, भागेश्वर गाउँपालिकामा ५१०, नवदुर्गा गाउँपालिकामा ३११, अजयमेरु गाउँपालिकामा २०७, र गन्यापधुरा गाउँपालिकामा १६७ घरपरिवार जोखिममा परेका छन ।
जिल्ला विपद् व्यवस्थापन समितिले संभावित जोखिमयुक्त क्षेत्र पहिचान गरी राहत र उद्धारका लागि अस्थायी शिविर, राहत सामग्री, सञ्चार समन्वय, आपतकालीन खाद्य जोहो तथा प्राथमिक उपचार सामग्री तयारीमा राखेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, र नेपाली सेनालाई उद्धारको प्रमुख जिम्मेवारी दिइएको छ । सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, बैतडी, डोटी, बाजुरा, दार्चुला, बझाङ, अछाम र डडेल्धुरा गरी नौ जिल्लामा विपद्को जोखिम देखिएको छ ।
