Amargadhi Post

डडेल्धुराबाट १० महिनामा मात्रै दुई हजार बढीले लिए राहदानी

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २१ गते । वैदेशिक रोजगारीका लागि डडेलधुराबाट चालु आर्थिक वर्षको १० महिनामा मात्रै २ हजार १९४ जनाले श्रम स्वीकृति लिएका छन । देशबाट दैनिकजसो रोजगारीका लागी नेपाली युबाहरु बिदेशतिर जान लागेको ब्यापक चर्चा परिचर्चा भईरहेका बेला डडेल्धुराबाट मात्रै उक्त सख्याले श्रम स्वकृती लिएको तथ्याक सार्बजनिक भएको हो । वैदेशिक रोजगारी तर्फको आकर्षण दिन प्रति दिन बढीरहेको भएपनि आवश्यक सीप, कानुनी जानकारी र सचेतना अभावमा नेपाली युवाहरूले समस्यामा झेल्नु परिरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिकाले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले वैदेशिक रोजगारीको नाममा ठगी, कानुनी अन्यौल र दलालको जालो झेलिरहेका युवाहरुको संख्या बढ्दै गएको बताउनु भयो । उनले वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना र सेवाको पहुँच गाउँबस्तीसम्म पु¥याउन जरुरी रहेको धारणा समेत राख्नुभयो ।
सामी कार्यक्रमका अधिकृत विष्णु अर्यालले सूचनाको अभावले धेरै नेपाली विदेशमा पीडित बन्ने गरेको उल्लेख गर्दै कार्यक्रममार्फत कानुनी सेवा, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी सेवा दिइँदै आएको जानकारी दिनुभयो । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाससम्म सुदूरपश्चिम प्रदेशका ३६ हजार ८ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये डडेलधुराबाट मात्रै २ हजार १९४ जनाले अनुमति लिएका हुन् । सुदूरपश्चिमका अन्य जिल्लाबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या यसप्रकार छ । अछाम ६ हजार ८२८, बैतडी ४ हजार ८८८, बझाङ २ हजार ९५७, बाजुरा २ हजार ५४३, दार्चुला २ हजार ३६१, डोटी १ हजार ८४, कैलाली ७ हजार ७४ र कञ्चनपुर ६ हजार ७९ जना रहेका छन् ।
नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ७८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । मुख्य गन्तव्य देशहरूमा साउदी अरब, यूएई, कतार, मलेसिया, कुवेत, जापान, दक्षिण कोरिया, क्रोएसिया, रोमानिया र बहराइन रहेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।