Amargadhi Post

जीवित व्यक्तिलाई ‘मृत’ देखाएर रकम हिनामिनाको प्रयास

अमरगढी पोष्ट समाचार
‘डडेल्धुरा,असार,२६ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाका लागि नगरपालिकाका कर्मचारीले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरेनरी प्राविधिक जनसिंह धामी ९नगर प्रमुख विजयसिंह धामीका छोरा समेत० को मिलेमतोमा जीवित रहेका शैल्यशिखर–६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको भनेर झूटा कागजात तयार पारेको भेटिएको हो ।


कृषि शाखा प्रमुख विष्टले जिउँदो मान्छेलाई मृत्यु भइसकेको भनी बैंकलाई खाता नवीकरणका लागि सिफारिस गरेको पाइएको छ । नगर प्रमुखका कान्छा छोरा एवं कृषक समूह अध्यक्ष जनकसिंह धामीको निवेदनका आधारमा बैंकलाई खाता नवीकरण गर्न सिफारिस गरिएको विष्टले बताए । बैंकले मृतक भनिएका व्यक्तिलाई खबर गर्दा जिउँदै भएको भेटिएपछि खाता नवीकरण कार्य रोकिएको छ ।
कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखालाई पत्र लेख्दै समूहको खातामा अब जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव वसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए । जानकीले यो नगरका ६ कृषक समूहमा ओखर पकेट कार्यक्रम आएको र त्यो कार्यक्रम हाम्रो समूहमा परेको आफूहरूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, त्यसबारे अध्यक्षले हामीलाई कुनै जानकारी दिएनन्, त्यही रकम खानलाई हाम्रो मृत्यु भैसकेको कागज बनाएछन् ।ओखर पकेट कार्यक्रमको रकम हत्याउन कृषि शाखा प्रमुख र अध्यक्षले फर्जी काम गरेको उनीहरूले बताए । अध्यक्ष धामीले ओखरका बिरुवा आफ्नै खेतमा रोपेका छन् । समूह निष्क्रिय रहेकाले हाम्रो समूहको खाता नवीकरण थिएन, लामो समयदेखि हाम्रो बैठक पनि बसेको थिएन सचिव मञ्जुले भनिन्, बैंकका कर्मचारीले मलाई चिन्ने हुँदा यस्तो बदमासी बेलैमा थाहा पाइयो । बैंकबाट फोन आएरै हामीहरूले उक्त करतुत थाहा पाएका हौं ।


कृषक समूहका अध्यक्षले पेस गरेको निवेदन र माइन्युटका आधारमा बैंकलाई मृत्यु भैसकेको पत्राचार गरिएको कृषि शाखा प्रमुख विष्टले बताए । उनले विगतदेखि नै निवेदन र माइन्युटकै आधारमा कागज तयार पारिने र त्यसैगरी बैंकलाई खाता नवीकरण र व्यक्तिका नाम परिवर्तनका लागि सिफारिस पत्र लेखिएको हो । ‘समूहका अध्यक्षको जालसाजी रहेछ,’ उनले भने, ‘हामीले मृत्यु दर्ता प्रमाणपत्रको कागजपत्र खोज्नु पर्थ्यो, त्यो गरिएन । दुवै पक्षलाई बोलाएर छलफलपछि आवश्यक कारबाही अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । यसमा बदमासी भएको देखिन्छ । दुवै पक्षलाई बोलाएर यसबारे बुझ्ने र कर्मचारी वा जसको गल्ती भेटिन्छ, त्यसलाई कारबाही गरिनेछ उनले भने ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।