लक्ष्मी ऐर
डडेल्धुरा, असार २७ गते । डडेल्धुराका दुई सामुदायिक विद्यालयका ४८ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । गुरुपूर्णिमाको अवसरमा जापानमा रहेका अमरगढी नगरपालिका–४ खलंगाका समाजसेवी विनय प्रकाश मल्लको पहलमा सो पोसाक वितरण गरिएको हो ।
बिहीबार गुरुपूर्णिमा अवसरमा अमरगढी नगरपालिका–४ स्थित असिग्राम प्राथमिक विद्यालय सुनेडाका १९ जना र अमरगढी–६ स्थित कैलाश प्राथमिक विद्यालय भालुमारेका २९ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको हो । समाजसेवी मल्लले विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी पोसाक सहयोग गर्नुभएको हो । उहाँले विगतदेखि नै विभिन्न निकायसँगको समन्वयमा समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ।
हाल जापानमा रहनुभएका मल्लले शिक्षा, स्वास्थ्य, सामाजिक तथा धार्मिक क्षेत्रमा व्यक्तिगत लगानीबाट करोडौँ रुपैयाँ सहयोग गरेको जानकारी दिनुभएको छ । उहाँले पहिलो चरणको कोभिड–१९ महामारीका बेला अमरगढी नगरपालिका–४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै अक्सिजन खरिदका लागि समेत आर्थिक सहयोग गर्नुभएको थियो ।
त्यसपछि उहाँले विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण, धार्मिक मठमन्दिर संरक्षण, सामुदायिक कार्यक्रम तथा विपद् व्यवस्थापनमा समेत निरन्तर सहयोग पु¥याउँदै आउनुभएको छ ।










