लक्ष्मी ऐर
डडेल्धुरा, असार ३२ गते । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित रंगुन नदीले बगाउँदै गरेको अवस्थामा एक युवकको सकुशल उद्धार गरिएको छ ।
मंगलबार साँझ स्थानीय अन्दाजी २८ वर्षीय तारा धामीलाई रंगुन खोलाले करिब सात सय मिटर तलसम्म बगाएपछि प्रहरी टोलीले उनको उद्धार गरेको हो । आलिताल–८ स्थित घुम्ती बजारदेखि घर जाने क्रममा उनलाई रंगुन नदीले बगाएको थियो ।
घटनाबारे सूचना पाएलगत्तै प्रहरी चौकी आलितालबाट प्रहरी सहायक निरीक्षक धनसिंह धामी नेतृत्वको टोली उद्धारका लागि खटिएको थियो । उक्त टोलीले मंगलबार साँझ ६ः१५ बजेतिर धामीलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार कार्यमा प्रहरी जवान विशाल भट्टसहित स्थानीयवासीको समेत सहयोग रहेको जनाएको छ । धामीको खुट्टामा सामान्य चोट लागेको र नदीबाट बग्दै गरेको अबस्थामा प्रहरीले उद्धार गरेको हो ।







