डडेल्धुरामा कोदो उत्पादन बर्षैनी घट्दै
लक्ष्मी ऐर
डडेल्धुरा,साउन ३ गते । डडेल्धुरामा कोदो खेती र उत्पादन दुवै घट्दो क्रममा रहेको छ । पछिल्ला केही बर्षयता देखि कोदोखेतीको क्षेत्रफल र उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
जिल्लामा करिब ३ सय २० हेक्टरमा कोदो खेती हुँदै आएपनि कुल ५ सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । कोदो उत्पादन मुख्यतया गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकामा हुँदै आएको छ ।
कृर्षकहरू प्रायः छरुवा विधिबाट कोदो खेती गर्ने गरेका छन । जेठ महिनामा विशेषगरी यसको खेती गरिन्छ । यद्यपि, हाल कोदो खेती गर्ने कृषकहरूको संख्या घट्दो छ भने उपभोग गर्ने उपभोक्ताहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । विशेषतः मधुमेह (सुगर) तथा प्रेसरका बिरामीहरूले कोदोको बढी माग गर्ने गरेका छन ।
कोदो रोग–कीराको सहनशील बाली हो र सुख्खा क्षेत्रमा पनि उत्पादन गर्न सकिन्छ । त्यसैले माग बढ्दो भए पनि कृषकहरू अन्य बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै गएकाले कोदो खेती घट्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख पनेरुले जानकारी दिनुभयो ।







