लक्ष्मी ऐर
डडेल्धुरा,साउन ५ गते । डडेल्धुरामा पछिल्लो बर्ष सम्बन्ध बिच्छेदका घटनामा दोब्बर संख्याले बृद्धि भएको छ । डडेल्धुरा जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको जनाएको छ ।
जिल्ला अदालतको तथ्यांकअनुसार पछिल्लो समय सबैभन्दा बढी मुद्धा सम्बन्ध बिच्छेदकै आउन थालेको बताईएको छ । जिल्ला अदालतका श्रेस्तेदार दामोदर रेग्मीले सवै भन्दा वढी मुद्दा श्रीमान र श्रीमतिको नाता सम्वन्ध विच्छेदकै रहेको र ९० मुद्धा फच्यौट भएको बताउनुभयो । जवरजस्ती करणीका १८ लागु औषधका १४ सवारी ज्यानका १० वैङ्क कसुरका १० वांकि अन्य मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । व्यक्तिवादी देवानी मुद्दा १३५ मध्ये १०६, दुनियावादी फौजदारी मुद्दा २५ मध्ये २१, सरकारवादी फौजदारी मुद्दा ११५ मध्ये ९९ र रिट निवेदन ३ मध्ये ३ वटा नै फस्यौट भएको श्रेस्तेदार रेग्मीले बताउनु भएको छ ।

डडेल्धुरा जिल्लामा दिन–प्रतिदिन सम्बन्ध विच्छेदका मुद्धा बढ्नुमा कानूनी सहजता भएको कानुन ब्याबसायी लालबहादुर जाग्रीले बताउनुभयो । केही वर्ष अगाडिसम्म सम्बन्ध बिच्छेद गराउँदा निकै झन्झटिलो प्रक्रिया थियो,’ उनले भने, ‘अहिले कानूनी प्रक्रिया निकै सहज भएकाले सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको हो ।
सम्बन्ध बिच्छेदका लागि आउने जोडीलाई सकभर मिलाउने प्रयास गछौं तर कदाचित मिल्न नसक्नेहरुको हकमा न्याय संगत रुपमा सम्बन्ध बिच्छेद गराउने परिपाटीको बिकास भएको अधिबक्ता जाग्रीको भनाई छ ।

‘सामाजिक सञ्जालको प्रयोगले पनि नराम्रो प्रभाव पारेको छ,’ उनले भने, ‘अनैतिक सम्बन्धले पनि सम्बन्ध बिच्छेदका घटना बढ्न थालेका छन् । उमेर नपुगी विवाह हुनु,विवाह लगत्तै केटा वा केटी सँ–सँगै लामो समय सम्म वस्न नपाउदै वैदेशिक रोजगारमा जानु, सामाजिक सञ्जालको दुरुपयोग हुनु सँयुक्त परिवार खण्डित भएर एकल परिवार हुनु, कानुनी सचेतना वढ्नु र कानुन व्यवशायीहरुको गलत सल्लाहका कारण सम्वन्ध विच्छेदका मुद्दा वढ्न लागेको समेत उहाँको भनाई थियो । जिल्ला अदालतमा आर्थिक बर्ष २०८१ र २०८२ मा जम्मा २७८ मुद्दा दर्ता रहेकोमा अदालतले असार मसान्त सम्म अँङक पुगेका २२९ मुद्दाको जिल्ला न्यायधिस रामचन्द्र शर्माको इजलासले फैसला गरेको बताईएको छ ।




