लक्ष्मी ऐर
डडेल्धुरा,साउन,५ गते । कैलाली कारागारमा बैंकिङ कसुरका एक कैदीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत कैलालीले सोमबार थुनछेक बहसपछि सई नाथलाई कारागार पठाउने आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले अदालतको आदेशअनुसार सई नाथलाई पुर्पक्षका लागि कारागार पठाइएको जानकारी दिनुभएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु भएको थियो। बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका पालीको २०८२ असार २ गते कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
पालीलाई डडेल्धुराबाट २०८२ जेठ २९ गते पक्राउ गरी जेठ ३० गते धनगढी ल्याइएको थियो। जेठ ३१ गते शनिबार परेकाले असार १ गते अदालतमा पेस गरिएको थियो र सोही दिन उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो। मृतक पालीकी श्रीमती जानकी साउदले सई हरजीत नाथकै योजनामा कारागारभित्र आफ्नो श्रीमानलाई कुटेर हत्या गरिएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा सई नाथ वादी रहेका थिए। यस घटनाले प्रहरी हिरासत र कारागारभित्रको सुरक्षा व्यवस्थामाथि प्रश्नचिह्न खडा गरेको छ। मृतक पालीलाई हत्या गरिएको आशंकामा डडेल्धुरा,कैलाली लगायतका जिल्लाहरुमा सर्बसधारणहरुले घटनाको छानबिन गरि दोशीउपर कानुनी कारबाहीको माग राखेर सडक आन्दोलन गरिएको थियो । आन्दोलनको दबाबमा सई नाथ समातिएका थिए भने उनलाई अदालतले पुर्पक्षका लागी कारागार चलान गरिएको छ ।





