लक्ष्मी ऐर
डडेल्धुरा,माघ १ गते । डडेल्धुराको भित्रीमद्येशमा पर्ने महत्पुर्ण तिर्थ स्थल परशुराम धाममा लाग्ने माघी सक्रान्तीको मेलामा भक्तजनहरुको निकै घुईचो लागेको छ । परशुराम नगरपालिका– ५ परिगाउँस्थित महाकाली नदी किनारमा रहेको परशुराम धाममा हरेक वर्ष लाग्ने माघे संक्रान्ति मेला अन्य बर्ष भन्दा यो बर्ष तुलनात्मक रुपमा भक्तजननहरु भिड बढी देखिएको हो ।
यसवर्ष करिब ६० हजार भन्दा बढी दर्शनार्थीहरुले भगवान परशुुरामको दर्शन तथा महाकाली नदीमा मकरस्नान गरेको परशुराम क्षेत्र विकास समितिले जनाएको छ । नेपालका चार धाममध्येको एक परशुरामधाममा रहेका चुनढुंगामा बसेर भगवान् परशुरामले तपस्या गरेको भन्ने जनविश्वास रहँदै आएको छ । पौष मसान्तको साँझ त्यहाँ पुगेर रातभरि मुडाको आगो तापेर भक्तजन जागाराम बस्ने गर्दछन भने माघ १ गते बिहानै महाकाली किनारमा नुहाउने भक्तजनको भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास रहिआएको छ । मकर संक्रान्तिका दिन महाकाली नदीमा मकर स्नान गरे अरू तीर्थभन्दा १० गुणा बढी पुण्य कमाइने धार्मिक मान्यता रहेको स्थानिय समाजसेबी कृष्ण बहादुर बिष्ट बताउछन । यस दिन मेला भर्नका लागि सुदुरपश्चिमका बिभिन्न जिल्ला र मित्र राष्ट भारतका बिभिन्न ठाउबाट दर्शनार्थी आउने गरेका छन बिष्टले भने । यसका साथै मकरसङ्क्रान्तिका बेला डडेल्धुराबाट मात्रै १६ वटा शिवालयका देउरा (चल देवता अर्थात् सुनचाँदीका आभूषणसहित शङ्ख, घण्टा, नेजाध्वजा) लैजाने चलन छ ।

खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउराहरुलाई देवघाटमा सामूहिक स्नान गराइएको छ ।
श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यसतीर्थमा भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ । एला र श्यामाको संगममा जगदग्नी पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ ।
हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ । महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ । त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देवलोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ । करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुरामधाम क्षेत्रमा परशुराम बाबाको ५४ फिट अग्लो मूर्ति बनेपछि आन्तरिक पर्यटनलाई बढावा दिन मद्दत गरेको छ । गुरु योजना अनुसार मूर्ति, बत्ति व्यवस्थापन लगायतका काम पहिलो चरणमा सकिएको छ । दोस्रो चरणमा स्नानघाट, तटबन्ध, सडक लगायत संरचना निर्माण गरिने परशुराम नगरपालिकाले जनाएको छ । डडेल्धुरा सदरमुकाम खलङ्गादेखि ९० किलोमिटर र कञ्चनपुरको महेन्द्रनगरबाट ३९ किलोमिटरको दुरीमा सडकमार्गबाटै परशुरामधाम सहजै पुग्न सकिन्छ ।




