अमरगढी पोष्ट समाचार
काठमाडौँ,असोज ३ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा संविधान र देशको सार्वभौमसत्ताको रक्षा गर्न सबै नेपालीसँग एकता हुनुपर्नेमा जोड दिनुभएको छ।
संविधान दिवशको अवशरमा एक सन्देश जारी गर्नुहुँदै उहाँले भन्नुभएको छ “आज संविधान दिवस हो। नेपाली जनताले ७० वर्षको संघर्षपछि आफैंले निर्वाचित गरेको संविधानसभाले जारी गरेको संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापना गर्ने दिन हो।”
उहाँले संविधान निर्माणका क्रममा भोगेका चुनौतीहरू स्मरण गर्नुहुँदै देशले नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीहरूलाई पार गर्दै संविधान जारी गरेको उल्लेख गर्नुभएको छ। “नेपालको संविधान नेपाली जनताले आफ्नै लागि लेखेको भविष्य रेखा हो,” ओलीले बताउनुभएको छ।
पूर्वप्रधानमन्त्री ओलीले गत साता भएको जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र घाइते तथा मृतक युवाप्रति दुःख व्यक्त गर्दै सरकारले गोली नचलाएको उल्लेख गर्नुभएको छ। उहाँले घटनाको स्वच्छ छानबिनको आवश्यकतामा जोड दिनुभयो। साथै, उहाँले सिंहदरबारमा आगजनी, नेपालको नक्सा जलाउने र देशको निशानिहरू मेटाउने प्रयासलाई गम्भीर खतरा भएको उल्लेख गर्दै भन्नुभयो, “हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ। सार्वभौमसत्तामाथि गरिएको प्रहारको सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न आवश्यक छ।” ओलीले अपील गर्दै भन्नुभयो, “संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।”
