Amargadhi Post

डडेल्धुरा सदरमुकाममा घर नक्सापासको काम रोकिएपछि नगरबासी आन्दोलित

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन ९ गते । डडेल्धुरा सदरमुकाम क्षेत्र भित्र झण्डै आठ बर्ष देखि घर नक्सा पासको काम रोकिएपछि आन्दोलित भएका नगरबासी र स्थानीय सरकार अमरगढी नगरपालिका बिच तिन बुद्धे सहमति भएको छ ।
डडेल्धुरा सदरमुकाम बागबजार देखि किर्तिपुर सम्मको क्षेत्रमा बनेका घरटहराहरुको नक्सा पास हुन नसक्दा स्थानीयहरु निकै सास्ती भोगिरहेको छन ।
डडेल्धुराको स्याउले–अनारखोली सडक खण्डमा सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५÷२५ मिटर राइट अफ वे (सडक सीमा) निर्धारण भएपछि नक्सा हुन सकीरहेको थिएन । नगरबासी सहितको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्बपक्षिय बैठकले दाँयाबाँया १५÷१५ मिटर सडक कायम राख्नुपर्ने भन्दै संघिय सरकारलाई सिफारिस गरिएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा बसेकोे सर्वदलीय तथा सर्वपक्षीय बैठकले उक्त निर्णय गर्दै सडक विभाग मार्फत नेपाल सरकारलाई सिफारिस गर्ने सहमति भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशी, हरिनादेवी कामी, जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवासयी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीले सडकको केन्द्रबिन्दुबाट १५÷१५ मिटर क्षेत्र अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको र सर्वोच्च अदालतको २०६६ वैशाख १३ गतेको फैसला, अमरगढी नगरपालिकाको निर्णय, सर्वदलीय सहमति, बजार क्षेत्रको भौगोलिक बनोट तथा मुख्य बजार विस्थापित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै साविककै १५÷१५ मिटर ‘राइट अफ वे’ कायम गर्न सिफारिस गर्ने निर्णय गरिएको हो ।
अमरगढी नगरपालिकाले सडक डिभिजन कार्यालय कुलपातेमार्फत सडक विभाग र नेपाल सरकारसमक्ष आवश्यक सिफारिस गर्ने जिम्मेवारी समेत सर्बदलिय बैठकले दिएको छ । अमरगढी नगरपालिकाले सडकको केन्द्रबिन्दुबाट १५÷१५ मिटर पछाडि निर्माण भएका तथा आगामी दिनमा निर्माण हुने घरहरूको आवश्यक कानुनी प्रक्रिया पूरा गरी घरजग्गाको नक्सापास अविलम्ब गर्ने निर्णय पनि गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो । त्यसैगरी, बागबजार–बगरकोट–सिराड–रुपाल सडकअन्तर्गत अमरगढी नगरपालिका–५ स्थित पिपल चौतारीदेखि आँखा अस्पतालसम्मको सडक खण्डमा केन्द्रबिन्दुबाट दायाँ–बायाँ १०÷१० मिटर ‘राइट अफ वे’ कायम गर्न पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । यसको समन्वय अमरगढी नगरपालिकाले गर्नेछ । घरनक्सा पास हुन नसक्दा ब्यबसायी तथा घरधनीहरुलाई बैकिङ कारोबार देखि अन्य प्रयोजनमा समेत समस्या आईरहेको गुनासो उहाँहरुले गर्नुभएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।