Amargadhi Post

सुशासन र सेवा प्रबाह पहिलो प्राथमिकता ः प्रमुख जिल्ला अधिकारी फुयाल

लक्ष्मी ऐर 
डडेल्धुरा भदौं २६ गते । डडेल्धुरा जिल्ला सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी -सीडीओ) वेदराज फुयालले शुसासन र सेवा प्रबाहको कार्य प्राथमिकताका साथ लिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । शुक्रबार जिल्ला स्थित पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्नुहुदै प्रजिअ फुयालले शुसासन कायम गराउने र जनताका कामकारबाहीहरुमा सरकारी सेवालाई छिटो छरितो र प्रभाबकारी बनाउनेमा आफु दृढताका साथ लाग्ने बताउनु भएको हो ।
सरकारी कार्यालयमा भईरहेको ढिलासुस्ती र अनियमितता जस्ता कुराहरुलाई निरुत्साहित गर्दे चुस्त दुरुस्त सेवा प्रणाली कायम गराउन आफु लागीपर्ने बताउनुभयो । सेवाग्राहीले अनावश्यक झन्झट र दुख पाउनुपर्ने अबस्था सिर्जना हुदैन केही गुनासो र समस्या भए तत्काल स्थानिय प्रशासनलाई जानकारी गराउन समेत प्रजिअ फुयालले आग्रह गर्नुभयो ।
जिल्लाको शान्तिसुरक्षा र कानुनको पालना गराउने विषयमा कसैसँग सम्झौता नगर्ने उहाको भनाई थियो । शान्तिसुरक्षा कायम गर्न तथा बिधी र प्रक्रिया कानुन सम्मत परिपालना गराउने दायित्व रहेकाले सबैको हातेमालो सगैं जिल्लाको समग्र बिकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
उनले विपद् पूर्वतयारीका कामलाई पनि विशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ । विपद्का घटना हुनुअघि नै आवश्यक तयारी, समन्वय र व्यवस्थापनमा जोड दिइने उहाँको भनाई थियो । विकास निर्माणका काममा सहजीकरण गर्दै समयमै आयोजना सम्पन्न हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणलाई समेत प्राथमिकतामा राखिने बताउनुभयो ।
विशेषगरी जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिने समेत उहाले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूहरूले जिल्लामा देखिएका विभिन्न समस्या, जनगुनासा, सेवा प्रवाह, बजार अनुगमन, विकास निर्माण, विपद् व्यवस्थापन र शान्ति सुरक्षालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।