टेकराज अवस्थी
डडेल्धुरा,असोज २४ गते । डडेल्धुरा जिल्लामा समाज सुधार र कानूनको प्रभाबकारी कार्यान्वयनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीबोध गर्नु पर्नेमा जोड दिईएको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आयोजना गरेको “लागु औषध नियन्त्रण कार्य योजना २०८३ तथा डडेल्धुराको अवस्था र चाल्नु पर्ने पहल, जिम्मेवारी बोध गराउँन जिल्ला स्तरिय गोष्ठिी” कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले समाजमा हुने अबान्छनिय गतिबिधि रोक्न सबैको समान जवाफदेहिता अपरिहार्य रहेको बताएका छन ।
आउँदै गरेको दशैं तिहार छट पर्व लगायत स्थानीय देवी देवताका पूजा तथा जात्रा कार्यक्रममा सुरक्षा व्यवस्था सहित जोखिम चुनौति लक्षित कार्यक्रममा डडेल्धुरा जिल्लालाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन डडेल्धुरा जिल्लामा क्रियासिल विभिन्न सामाजिक संस्था तथा नागरिक समाज र सामुदायिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधि बिच छलफल अन्र्तक्रिया गरि विद्यमान अवस्थाको जानकारी र नागरिकले भोगिरहेका सरकारी, सामाजिक र कानूनी समस्या समाधान गरि सहजिकरण गर्ने विषयमा साझेदारी गर्न आवश्यक रहेको सुरक्षा निकायलाई सुझाव दिएका छन ।
अमरगढी नगरपालिका वडा नं। ५ का अध्यक्ष टंक बहादुर क्षेत्री, उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष दिपक महता, होटल व्यवसायी संघ डडेल्धुराका अध्यक्ष दान बहादुर भण्डारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मनोरथ खडायत, महिला मुक्ति समाजका अध्यक्ष आरती जोशी लगायत सरोकारवाला विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा भएको गोष्ठिमा सडक यातायातमा देखिएका बिकृति, सडक यात्रु सुरक्षा, सदरमुकाम बजार क्षेत्रमा सडक बत्तीको मर्मतसंभार, लागु औषधको नियन्त्रण र सूचना प्रवाह, बढदो आत्महत्या रोकथाम, चाडपर्व सुरक्षा, सामाजिक सञ्जालको प्रयोग र निम्त्याईएको घटना प्रति जिम्मेवार निकाय सहित नागरिक सचेत र चनाखो हुनु पर्नै बताएका छन ।
गोष्ठिमा “हर प्रहर गाउँ र नगरी, टोल वस्तीमा नेपाल प्रहरी” भन्ने नारालाई सार्थक बनाउन टोल समुदायमा सुरक्षाकर्मीको कडा उपस्थिति रहनु पर्ने, कीर्तिपुर बजार क्षेत्रमा प्रहरी बिट पुर्नस्थापना गरिनु पर्ने, विद्यालयस्तरमा लागु औषध र बिकृतिबिसंगतिका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने, समाजमा अभिभावक पनि संबेदनशिल र जिम्मेवार हुनु पर्ने, विद्यालयमा नैतिक शिक्षाको पाठ्यक्रम अबलम्बन हुनु पर्ने, वालवालिकाका लागि ससाना खेलमैदान बनाई दिन स्थानीय सरकारलाई आग्रह समेत गरिएको छ । समाजमा हुन सक्ने अपराधिक र अबान्छनिय क्रियाकलापहरुलाई रोकथाम गर्न नागरिक सशक्तिकरण आवश्यक रहेको जिकिर गर्दै महिला पुरुषको सममान र सहअस्तित्व कायम गरि पेशा व्यवसायलाई मर्यादित र सुरक्षित गर्दै समाजलाई दुव्र्यसन मुक्त बनाउनु सबेको समान दायित्व भएको तर्फ गम्भीर रुपले ध्यान जानु जरुरी रहेको बताएका छन ।
सडकमा यात्रुलाई अनेक प्रकारको सास्ती छ, चालकहरुले सवारी साधन चलाउँदा मोबायल फोनको प्रयोग र गित बजाउने कार्यले यात्रा जोखिमपूर्ण हुने हुँदा यस्ता क्रियाकलापलाई निगरानी गरि आवश्यक कारवाही गर्नु पर्ने, स्थानीय रुटमा चल्ने सवारी साधनमा क्षमता भन्दा बढि यात्रु बसाउँदा दुर्घटनाको संभावना बढाएको तर्फ नागरिक अगुवाहरुले सम्बनिधत निकायलाई ध्यानाकर्षण पनि गराएका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरिक्षक वरुण बहादुर सिंहले प्राप्त सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा थप सुधार केन्द्रित कार्यक्रम संचालन गरिने प्रतिबद्धता व्यक्त गर्दै डडेल्धुरामा पछिल्ला समय केहि सुधार भएको तर अझै पनि केहि विषय नागरिक तहबाट सुसूचित हुन नसकेको गुनासो समेत गर्नु भयो । उहाँले डडेल्धुरामा जुवातासका बारेमा सूचना आउँने गरेको भए पनि अन्य विषयमा भने नागरिकको मौनता देखिएकोले प्रहरीलाई काम गर्न समस्या भएको बताए, साथै नगद र वित्तिय संस्थासँगको कारोबारमा स्वयं सुरक्षा अपनाउँने, आम नागरिक पनि सचेत भएर पसल अगाडी बत्तीको व्यवस्था गरि दिन आग्रह गर्दै प्रहरीले मेला सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन र गतिबिधि बढाउने कार्यमा योजनाबद्ध रुपले अगाडी बढने तर समाज र समुदायको सहयोग विना संभव नहुने भएकोले समग्र सुरक्षा व्यवस्था र प्रहरीको हौसला अभिबृद्धिका लागि कानूनतः काम गर्दा नागरिकतहबाट अबरोध नभएर कानूनको परिपालना गर्नमा सहयोग पुगाई सहयोग गरि दिन आग्रह पनि गरेका छन ।
जिल्ला प्रशासन कार्यालय डडेएधुरामा सम्पन्न भएको उक्त गोष्ठिमा प्रमुख जिल्ला अधिकारीले समाजले राज्यसँग मात्र अपेक्षा राख्नु भन्दा सामाजिक पक्षमा संबेदनशिल भई जिम्मेवार भूमिका निर्वाह गरे मात्र सकारात्मक परिणाम आउँने भएकोले सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँनु भयो ।
वडाध्यक्ष क्षेत्रीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभाबकारी बनाउँन सबैको प्रयास रहनु पर्ने साथै स्थानीय सरकारको पनि अहं भूमिका हुने भएकोले स्थानीय सरकारसँग सम्बन्धित बिबिध समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको र आवश्यक पहल गर्ने बताएका छन ।



