Amargadhi Post

पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने प्रस्तावमा एमालेका तीन नेता उभिए

अमरगढी पोष्ट समाचार
काठमाडौं, ७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन नहुने एमाले केन्द्रीय कमिटीको निर्णयमा तीन जना नेताहरू बिपक्षमा उभिएका छन । उनीहरुले खुल्ला राजतिनितमा आउन दिनुपर्नेमा जोड दिएका छन ।
मंगलबार राति सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा अन्य सबै सदस्यहरूले देशकै अभिभावक र नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पुन राजनीतिक दलको झण्डा बोकेर हिँड्दा नकारात्मक सन्देश जाने भन्दै उहाँलाई सक्रिय राजनीतिमा ल्याउन नहुन सुझाव दिनुभएको थियो । ‘नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक पछि पत्रकारहरूलाई जानकारी दिनुभयो । पार्टी केन्द्रीय कमिटी बैठकले गरेको सो निर्णयमा पाटीका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जानुभएको गौतमले जानकारी दिनुभयो । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भन्नुभयो ।

केन्द्रीय कमिटी बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको थियो । ती मध्ये तीन जना सदस्यहरूले मात्र सो निर्णयमा असहमति जनाउनुभएको छ । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पनि विधान महाधिवेशनमा लैजाने निर्णय गरेको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यले अझै एमाले पार्टीमा केपी ओलीकै नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको थियो । उहाँहरूले केपी ओलीकै नेतृत्वमा मिसन २०८४ मा जानु पर्ने सुझाव दिनुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।