संसद विघटन, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता मागविरुद्ध संघर्षमा उत्रिने पूर्व विद्यार्थी नेताहरूको चेतावनी
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं,२६ गते । पूर्व विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरूले विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन्।
देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरू तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौं,विज्ञप्तिमा भनिएको छ।
उनीहरूले संसद विघटन, राष्ट्रपतिको राजीनामा, कथित स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागकाविरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी पनि दिएका छन्।





