Amargadhi Post

डडेल्धुरा जिल्ला बन्यो,पुर्ण खोप सुनिश्चित जिल्ला

लक्ष्मी ऐर 
डडेल्धुरा,असार २७ गते । डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्ला पूर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शनिबार आयोजित एक कार्यक्रमका बिच जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका जनस्वास्थ्य निरिक्षक मिनराज जोशीले डडेल्धुरा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदलाई हस्तान्तरण गर्नुभएको थियो ।
आवश्यक प्रक्रिया पूरा गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी गराउनुभयो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हाल १३ वटा रोगविरुद्ध १४ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । डडेल्धुरामा हाल १०६ वटा खोप केन्द्रमार्फत प्रत्येक महिनाको २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २०८२ माघदेखि चैत्रसम्म सञ्चालन गरिएको घरधुरी सर्वेक्षणमा ० देखि १५ महिना सम्मका २ हजार १ सय ४५ बालबालिका मध्ये कुनै पनि शून्य डोजमा भेटिएका थिएनन भने ३१ जना ड्रपआउट बालबालिका फेला परेको तथ्याक सार्बजनिक गरिएको छ । यसैगरी १६ देखि २३ महिनासम्मका १ हजार ३ सय ६९ बालबालिकामध्ये ३ जना शून्य डोज र ३४ जना ड्रपआउट बालबालिका भेटिएका थिए ।
पहिचान भएका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप लगाइसकेपछि जिल्लाभर पूर्णखोप सुनिश्चितताको अवस्था कायम गरिएको स्वास्थ्य कार्यालयले डडेल्धुराले बताएको छ ।
जिल्ला पूर्णखोप समन्वय समिति डडेल्धुराका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले वडा, पालिका हुँदै जिल्लासम्म पूर्णखोप सुनिश्चितता हासिल हुनु सबै सरोकारवालाको साझा उपलब्धि भएको बताउनुभयो ।
सबैभन्दा पहिले आलिताल गाउँपालिकाले जेठ १९ गते र अन्तिममा अजयमेरु गाउँपालिकाले असार १३ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सार्वजनिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
संघीयता कार्यान्वयनपछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै स्थानीय तहले गरेका सकारात्मक कार्यको प्रचारप्रसारमा अझ ध्यान दिनुपर्ने धारणा राख्नुभयो । यसैगरी नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले पूर्णखोप अभियानलाई बालबालिकाको भविष्यसँग जोडिएकाले यसको निरन्तरता र दिगोपनामा स्थानीय तह प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले खोपप्रति समाजमा रहेका भ्रम र नकारात्मक धारणा अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । खोपको महत्वबारे जनचेतना अभिवृद्धिका लागि व्यापक जनजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान पनि गरिएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराले खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्लाका सातवटै स्थानीय तहबाट एक–एक जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा अमरगढी नगरपालिकाको भजन्यौटा आधारभूत स्वास्थ्य केन्द्रकी सिनियर अनमी लक्ष्मीदेवी भट्ट, परशुराम नगरपालिकाको सलेता आधारभूत स्वास्थ्य केन्द्रकी अनमी सरस्वती जोशी, आलिताल गाउँपालिकाको आलिताल स्वास्थ्य चौकीका अहेव सुरेन्द्र चुनारा, भागेश्वर गाउँपालिकाको भागेश्वर स्वास्थ्य चौकीकी सिनियर अनमी गोमती शाही, अजयमेरु गाउँपालिकाको देवल दिव्यपुर स्वास्थ्य चौकीका सिनियर अहेव राजेन्द्र ठगुन्ना, नवदुर्गा गाउँपालिकाको चामाचौड आधारभूत स्वास्थ्य केन्द्रका सिनियर अहेव हर्कबहादुर विक र गन्यापधुरा गाउँपालिकाको गन्यापधुरा आधारभूत अस्पतालकी अनमी चन्द्रा मल्ल रहेका छन । यसैगरी खोप कार्यक्रमको तथ्यांक व्यवस्थापन, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत जनक चन्दलाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।