लक्ष्मी ऐर
डडेल्धुरा साउन २९ गते । राजनितिमा सकृय रहेको चार दशकपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा डडेल्धुराका माननिय खगराज भट्ट पांर्चौं मुख्यमन्त्री नियुक्त भएका छन । सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता भट्ट डडेल्धुराको अजयमेरु गाउपालिका ४ चौडीका स्थायि बासिन्दा हुन । किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका उनले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन ।
खगराज भट्टको जन्म वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला पुत्रका रूपमा भएको हो । उनले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन ।
वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै उनी औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका थिए । वि.सं. २०५० असोज देखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बने । वि.सं. २०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र हुँदै गएपछि भट्ट पनि पक्राउ परेका थिए । २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहेका थिए । जेलबाट मुक्त भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भए । त्यसपछिको समय उनका लागि संगठन निर्माण, राजनीतिक सम्पर्क विस्तार र सुदूरपश्चिममा पार्टीको आधार बलियो बनाउने महत्वपूर्ण चरण बन्यो ।
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले । कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उनी क्षेत्रीय नेतृत्वमा स्थापित भए । भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन । उनको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ । उनका दाजु जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय थिए । जनयुद्धकालमै उनको शहादत भयो । डडेल्धुरामा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा भएको प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो । तर बिजयी भने हुन सकेनन । खुला राजनीतिमा प्रवेशपछि उनले संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा प्रदेश र स्थानीय विकासका प्रश्नमा राजनीतिक भूमिका निर्वाह गर्दै आएका छन । संघीय गणतान्त्रिक संरचनाको स्थापना भएपछि भट्टको राजनीतिक सक्रियता सुदूरपश्चिम प्रदेशमा थप केन्द्रित भयो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो । वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भएका सासंद हुन ।


