Amargadhi Post

उग्रतारा भगवती मन्दिरमा भब्यताका साथ मनाईयो अष्टमी मेला

लक्ष्मी ऐर 
डडेल्धुरा,कार्तिक ०१ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रहेको धार्मिक शक्ति पिठ उग्रतारा मन्दिरमा भब्यताका साथ अष्टमी मेला सम्पन्न भएको छ । सुदुरपश्चिममा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक उग्रतारा मन्दिरमा आईतबार अष्टमी मेला लागेको हो ।
उग्रतारा मन्दिरमा घटस्थापनाको दिनदेखि दिनगन्ति गरेर आठौं दिन पूजाआजासहित मेला लाग्ने गरेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले बताउनुभयो ।
शनिबार साँझ मन्दिरमा पूजाआजा गरिएपछि आईतबार बिहानैदेखि मेला लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बलि चढाउने धार्मिक परम्परा रहिआएको छ ।
भाकल गरेकाहरुले दाइन, दमाह, रुइसिंग, बिकुल, घण्ट, त्रिशुल आदि बाजागाजा, सुनचांँदीका आभुषणसहित राँगा मन्दिरमा पुगाउने प्रचलन रहेको समेत भट्टले जानकारी दिनुभयो । करिब दुई हजार पाँचसय वर्ष पहिले हालको अमरगढी नगरपालिका –८ लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले खेतीपाती लगाउने क्रममा हलो जोत्दै गर्दा हलोको फाली लागेर एउटा शिलाबाट रगत बग्न थालेको किम्बदन्ती छ ।
आफूलाई खान ल्याएको खिचडीले रगत रोक्दा रोकियो । त्यसपछि यस स्थानमा देवी उत्पन्न भएर दर्शन मिलेको विश्वास छ । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवती मन्दिरमा पूजा गरिँदैआएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पुजारी रहनुभएको छ ।
साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की हाल कैनी जातीलाई अनुमती दिइ राँगा काट्न भनेपछि अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लगाएर राँगाको बलि सुरु हुन्छ । बलि दिइएका राँगाको मासु पार्की कैनीजातीले उपभोग गर्नेगरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनुभयो । भाकलका आधारमा मनोकामना पूरा भएपछि राँगा र बोकाको बलि दिइने धार्मिक परम्परा र चलन रहिआएको उहाँले बताउनुभयो । उहाँकाअनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ ।

 अष्टमीका दिन बिहान अमरगढी नगरपालिका ६ को दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका ८ को खनमडा गाउँ र अमरगढी नगरपालिका ५ को जिलोडा गाउँबाट -देउरा) बाजागाजासंगै देवताको आभुषणसहितको डोली ल्याउने गरिन्छ । यी चारवटा गाउँमा भएका देउरा सुनचाँदीका गरगहना सहितको डोली, भोकर, बिकुल घण्टासंगै दाहिन दमाह बजाउदै नेजाध्वजासहित देउरो -शोभायात्रा) मन्दिरमा ल्याइन्छ । दसैँका दिन पूजाआजा सकिएपछि टीका लगाइ देउरो लगेर पुनः गाउँ फर्किने धार्मिक परम्परा सदियौँदेखि रहिआएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।