Amargadhi Post

बजार नपाउँदा शीतभण्डारमै कुहिन थाल्यो जुनार

आशिष मल्ल । १९ फागुन, डडेल्धुरा । बजार नपाउँदा डडेल्धुरामा जुनार शीतभण्डारमै थन्किएको छ । किसानबाट खरिद गरेर अमरगढी नगरपालिका-१ दहस्थित उग्रतारा शीतभण्डारमा राखेको १२ सय क्रेट जुनार मूल्य नपाउँदा कुहिन थालेको ।

ब्यापारीहरुले भागेश्वर गाउँपालिकाको सिराडलगायतका ठाउँबाट मंसिर महिनामा प्रतिकिलो २५ रुपैयाँका दरले करिब पाँच लाख रुपैयाँ बराबरको जुनार खरिद गरेर शीतभण्डारमा राखेका थिए ।

उग्रतारा शीतभण्डारका अध्यक्ष भोजराज भट्टले जुनार शीतभण्डारमा ४० देखि ४५ दिनसम्म राख्न सकिने भएपनि बिक्री नहुँदा दोब्बर समयसम्म रहेकोले कुहिएको बताए ।

फागुन महिनामा किसानबाट जुनार खरिद गरी चैत वैशाखमा बिक्री गर्दा जुनारले बजार पाउने उनको भनाइ छ । ‘हामीले मंसिर महिनामै किसानबाट जुनार खरिद गरी शीतभण्डारमा राख्यौं । अहिले बजारमा बोटबाट पनि जुनार आउँदैछ । शीतभण्डारको कसैले लिन खोज्दैन्न ,’ अध्यक्ष भट्टले भने ।

शीतभण्डारमा राखिएको जुनार बिक्रीका लागि धनगढी, महेन्द्रनगरदेखि देशका पूर्वी जिल्लासम्म सम्पर्क गर्दा पनि बिक्री हुन सकेको छैन । गत वर्ष मात्रै स्थापना भएको शीतभण्डारमा पहिले आलु मात्रै राखिएको थियो । यसवर्ष पहिलो पटक किसानलाई पनि राहत र व्यवसायिक रुपमा लाभ लिन सकिने भन्दै जुनार खरिद गरी राखिएको उनले बताए ।

शीतभण्डार पहिलो अभ्यास भएकाले जुनार बिक्री नहुँदा व्यवसायिक रुपमा घाटा व्यहोर्नु परेको उनको भनाइ छ । १२ सय क्रेट जुनार मध्ये ग्रेडिङ गरिरहेको उनले बताए । आलुकालाई सेट गरिएको टेम्प्रेचरमा नै जुनार राखिएकाले पनि कुहिन थालेको उनको बुझाइ छ ।

कुहिएको जुनार गाईगोरुलाई खुवान पनि नहुने भएकाले व्यवस्थापनका लागि समेत समस्या भएको व्यापारीले बताएका छन् ।जुनार भण्डारण गर्नका लागि शीतभण्डारको छुट्टै व्यवस्था नहुनुका साथै जुनार टिप्दा पनि सावधानी नअपनाउँदा छिट्टै कुहिन थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

भागेश्वर गाउँपालिका वडा नम्वर ५ र ४ जुनार उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ । जुनार पकेट क्षेत्रबाट किसानबाट जुनार खरिद गरी शीतभण्डारमा राखिए पनि अन्य क्षेत्रबाट अहिले पनि बजारमा बोटबाटै जुनार आइरहेको छ । यसवर्ष हिउँदे झरी र हिमपातले चिसो हट्न नसकेकाले पनि जुनारले बजार नपाएको व्यवसायीको भनाइ छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।