अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर,८ गते । विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न आन्दोलनरत अनेरास्ववियुका नेता कार्यकर्तालाई प्रहरी पक्राउ गर्न थालेको छ । आन्दोलनलाई कमजोर पार्ने रणनीतिका साथ विद्यार्थी नेता कार्यकर्तालाई घर भित्रैबाट थुतेर समात्न बाजुरा प्रहरी सक्रिय देखिएको छ ।
न्यायको आन्दोलनमा लागेका युवा विद्यार्थीलाई साथ दिनको साँटो उल्टै जबरजस्त शैलीमा घरभित्रै बाटै समातेर प्रहरी प्रशासन नेपाली काँग्रेसको झोले मतियार बनेको अनेरास्ववियुले आरोप लगाएको छ । तीनदिन देखि दबाबमुलक आन्दोलनमा सरिक युवा विद्यार्थीलाई विहानै घरमै पुगेर ताला फोडेर पक्राउ गर्ने गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य राजीव रोकायाले बताएका छन् ।
विद्यार्थी नेताको निर्मम हत्या गरिएको छ । २२ जनाको नाममा किटानी जाहेर समेत दिइसकेको अवस्था छ । तरपनि प्रहरी प्रशासन हत्यारा पक्राउ गर्नुको साँटो उल्टै न्यायको आन्दोलनमा लागेकाहरुलाई समात्न लागेको आक्रोश अनेरास्ववियुको छ ।
नेपाली काँग्रेसको ठाडो निर्देशनमा आन्दोलनलाई कमजोर पार्न विहानै देखि घरघरबाट युवा विद्यार्थी समातेर गैर कानुनी र अराजक गतिविधी प्रहरी प्रशासनबाटै गरिएको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।
कोठामा सुतिरहेको अवस्थामा प्रहरीले ओछ्याउबाट, शौचालयमा गएको अवस्थामा त्यहीबाट अनेरास्ववियुका युवा विद्यार्थीलाई समातिरहेको छ । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सर्वदलिय बैठक सकेर फर्किदै गर्दा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख माथि आन्दोलनकारीले असभ्य व्यवाहार गरेको आरोपमा प्रहरीले पक्राउ गर्न थालेको बताएको छ ।
लगातारको आन्दोलनमा सहभागि अनेरास्ववियुका विद्यार्थीले हत्यारा पक्राउमा ढिलाई गरेको आक्रोश देखाएर चर्का नारा बाजी गरेका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्था मजबुद नबनाएको र काँग्रेसलाई बुथ कब्जामा अप्रत्यक्ष सहयोग गरेको आरोपले कालोमोसो दल्ने प्रयास गरेका थिए । आफूहरुमाथि नै आक्रमण गर्ने प्रयास गरेको भन्दै बाजुरा प्रहरी प्रशासनले आन्दोलनकारीलाई नियन्त्रणमा लिने र मुद्दा चलाउने तयारी थालेको छ ।
न्यायको आन्दोलन माथि नै प्रहरी प्रशासनको हस्तक्षेत्र सहेर बस्ने अवस्था नरहेको नेकपा एमाले बाजुराले बताएको छ । कति जना समात्ने आँट गर्ने रहेछ, त्यो १० बजेसम्म हेरिन्छ, त्यसपछि सत्ता शक्तिको इशारामा चल्ने प्रहरी प्रशासनलाई जवाफ दिने गरि एमालेले तयारी थाल्ने पार्टी सचिव भरत थापाले बताएका छन् ।
विना सर्त, सकुशल कुनै धाक धम्की अनेरास्ववियुका योद्धाहरुलाई रिहाइ गरिएन र सत्तागठबन्धनको आडमा आफ्नै औकाद देखाउन खोजे परिणाम राम्रो नहुने थापाको चेतावनी छ । हालसम्म एक दर्जन बढी युवा विद्यार्थीका नेताहरुलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर प्रहरी हिरासदमा राखेको छ ।
अहिले नेकपा एमाले बाजुराले त्यसको जवाफी तयारीका लागि आकस्मीक बैठक समेत बोलाएको छ । तर स्थानीय प्रहरी प्रशासनले भने आन्दोलनकारीलाई पक्राउ नगरि प्रमुख जिल्ला अधिकारी सहीतको टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताएको छ । जस्का कारण बाजुरा सदरमुकाम विहानै देखि तनावपूर्ण बनेको छ । अनेरास्ववियुले बाजुरा बन्द जारी राखेको छ ।
