Amargadhi Post

रकम हिनामिना भएपछि शिक्षक अख्तियारको शरणमा

कन्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षकको सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा करबापतको रकम हिमामिना भएको छ । भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित शान्ति निकेतन माध्यामिक विद्यालयका शिक्षकको विभिन्न शीर्षकको रकम हिमामिना भएको हो ।

लामो सयमदेखि विद्यालय प्रशासन तथा लेखाले शिक्षकको तलबबाट कटौती गरेर बैंकमा जम्मा गर्नुपर्ने सो रकम जम्मा नभई दुरुपयोग भएको पाइएको हो । शिक्षकहरूका अनुसार दशकयता तलबबाट काटेर सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा करको रकम जम्मा गरिएको छैन ।

अख्तियारमा सामूहिक उजुरी
आर्थिक वर्ष ०६७/७६ देखि यस्तो बदमासी भएको पीडित शिक्षकले बताए । आफ्नो मासिक तलबबाट सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा करबापतको रकम काटे पनि जम्मा नगरिदिएको भन्दै २३ जना शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा सामूहिक उजुरी दिएका छन् ।

शिक्षकले प्रध्यानाध्यापक बहादुर चन्द र पूर्वलेखापाल मोहन साउदले सो रकम हिनामिना गरेको आरोप लगाएका छन् । प्रध्यानाध्यापक चन्द र लेखापाल साउदले रकम जम्मा नगरी आफ्नो व्यक्तिगत काममा खर्च गरेको शिक्षकको आरोप छ । सरकारी शिक्षकको उक्त रकम जम्मा नगरिदिएपछि विद्यालयका पीडित शिक्षक र प्रअबीच विवाद सुरु भएको छ ।

सञ्चयकोषलगायतमा आफ्नो रकम जम्मा नभएपछि शिक्षकले अन्तिमपटक बाध्य भएर अख्तियारलाई गुहारेको बताएका छन् । एक शिक्षकका अनुसार यसअघि पनि रकमकै विषयमा तीनपटक अख्तियारमा उजुरी गर्न तयारी गर्दा प्रध्यानाध्यापकले रोकेका थिए ।

‘हामीले हाम्रो रकम जम्मा नगरिदिएको विषयमा आर्थिक वर्ष ०६७/६८ देखि थाहा पाएका थियौँ, ‘ ती शिक्षकले भने, ‘प्रअसँग रकम जम्मा गरिदिने विषयमा आग्रह गर्दागर्दै केही सुनुवाइ भएन ।’ बाध्य भएर अख्तियारको शरणमा पुगेको शिक्षकको भनाइ छ । अन्तिमपटक अख्तियार पुग्दा उजुरी रोक्ने प्रयासका बाबजुत उजुरी दर्ता गराएरै छाडेको ती शिक्षकको भनाइ छ ।

आपसी विवाद गर्दा विद्यालय नै धराशयी बन्ने र शिक्षकको समाजप्रतिको उत्तरदायित्व निर्वाह नहुने भएपछि आफूहरूले उच्च नैतिकता देखाउँदै अख्तियारमा मात्रै उजुरी दिएको शिक्षकले बताएका छन् ।

‘पैसा जम्मा गर्ने विषयमा कुरा उठ्दा प्रअले पैसा हाल्छौँ भन्ने तर नहाल्ने गरे, ‘पीडित शिक्षकले भने, ‘कुनै वर्षको हाल्ने कुनै वर्षको नहाल्ने यस्तै चलिरह्यो ।’ रकम जम्मा नगरेको विषयको तनावले पूर्वलेखापाल मोहन साउदले गत वर्ष माघमा राजीनामासमेत दिएको शिक्षकले बताएका छन् ।

केही शिक्षकले रकम जम्मा भएको बताएका छन् । भने केहीले जम्मा भए नभएको विषयमा अनभिज्ञता प्रकट गरे । शिक्षक जगदीश भट्टले ६ महिनाको जम्मा हुनुपर्ने भए पनि पाँच महिनाको मात्रै जम्मा भएको बताए । ‘मेरो पाँच महिनाको मात्रै सञ्चयकोषको रकम जम्मा भएको म्यासेज आयो, ‘उनले भने, ‘एक महिनाको आएको छैन, अरूको थाहा भएन ।’

‘वर्षदिनको तलब पाएनौँ’
निजी शिक्षकले वर्षदिनदेखि पारिश्रमिक पाएका छैनन् । उच्चमाविमा कार्यरत तीनजना शिक्षकले धर्मानन्द भट्ट, पुष्पा जोशी र धर्मराज नाथलगायत निजी स्रोतका शिक्षकले गत वर्षदेखि पारिश्रमिक पाएका छैनन् ।

उच्चमाविका शिक्षक धर्मानन्द भट्टले ०७५ असारदेखि ०७६ भदौ मसान्तसम्ममा १५ हजार मात्रै पारिश्रमिक पाएको बताए । उनको मासिक १७ हजार पारिश्रमिक तोकिएको थियो । पाएको रकम पनि महिना दिनको पूरै छैन । शिक्षक धर्मानन्द भट्टले तोकिएको पारिश्रमिकभन्दा दुई हजार कम त्यो पनि एक महिनाको १५ हजार मात्रै पाएको बताए । यसरी कुनै पनि सरकारी कर्मचारीको रकम समयमै पारिश्रमिक दिनुपर्ने, कर काट्नुपर्ने, जम्मा गर्नुपर्ने भए पनि शान्ति निकेतनमा भइरहेको आर्थिक बेथितिले शिक्षा क्षेत्रमा थप अनियमिता, ज्यादती हुने गरेको पुष्टि गरेको छ ।

शान्ति निकेतनका प्रधानाध्यापक बहादुर चन्दले लामो समयदेखिको रकम जम्मा गर्नुपर्ने नभई ६ महिनाको मात्रै बाँकी रहेको स्वीकार गरे । ‘हामीले यताबाट भौचर उठायौँ, बैंकले दाखिला गरिदिएन, ‘उनले भने, ‘कुनै पनि शिक्षकको रकम हिनामिना भएको छैन ।’ प्रअ चन्दले ०७४ र ०७५ सालको तीन÷तीन महिनाको मात्रै रकम जम्मा गर्न छुटेको बताउँदै सो रकम जम्मा भइसकेको बताए ।

‘हामीले रकम हिनामिना गर्ने कुरै भएन, ‘प्रअ चन्दले भने, ‘रकम सम्बन्धित शिक्षकको खातामा दाखिला नभएको रहेछ, अहिले गरिरहेका छौँ ।’ लेखा र प्रअको मिलोमतोमा जम्मा गर्नुपर्ने रकम चलाएको अन्य शिक्षकले आशंका गरेका छन् । निजी स्रोतका शिक्षकको हकमा पुष्पा जोशी र कर्मराज नाथले पेस्की रकम लिएको बताउँदै प्रअ चन्दले धर्मानन्द भट्टको हकमा केही रकम बाँकी रहेको बताए ।

छानबिन हुँदै 
शिक्षकको सामूहिक उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले छानबिन भइरहेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रवक्ता टोपबहादुर चन्दले शिक्षक सामूहिक रूपमा आएर उजुरी दिएपछि त्यहाँ समस्या रहेको हुन सक्ने बताए । ‘सामूहिक रूपमा शिक्षक अख्तियारमै उजुरी दिन आए, ‘प्रवक्ता विष्टले भने, ‘यहाँ अनियमिता भएको छ, हामी छानबिन गरिरहेका छौँ ।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।