डडेल्धुरा अस्पताल बिकास समितिका अध्यक्षमाथी कालो मुसो दलियो
दुरब्यबहार गर्नेहरुको खोजी कार्य तिब्र ः प्रहरी ः अस्पताल भित्र ब्यापक अनियमितता स्वरुप कारबाही ः नेकपा बहुमत ः घटनाको सत्य तथ्य छानबिन गरि दोशी उपर कारबाही होस ः अध्यक्ष ओझा
मानबहादुर साँउद
डडेल्धुरा, पुस २३ गते । डडेल्धुरा अस्पताल बिकास समितिका अध्यक्ष माथी नेकपा बहुमतका कार्यकर्ताहरुले कालोमुसो दलेर दुरब्यबहार गरेका छन । नेकपा बहुमत कार्यकर्ताहरुको टोलीले अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाको कार्यकक्षमै पुगेर बुधबार दिउसो कालोमुसो दल्नुका सार्थै दुरब्यबहार गरिएको छ । नेकपा बहुमतको भातृसंगठन कम्युनिष्ट युबा संगठन नेपाल डडेल्धुराका अध्यक्ष सहबिरको हस्ताक्षरबाट जारी बिज्ञप्तीमा अस्पताल बिकास समितिका अध्यक्ष माथीको कारबाही भन्दै १० बुद्धे गम्भिर आरोप लगाएको छ ।
अस्पताल जस्तो संवेदनशील संस्थामाथी आर्थिक अनियमितता कमिशनमा कामकाज गर्ने,कोटेशन बितरण गर्दे काम गर्ने, कर्मचारी भर्नाका नाममा अस्पताललाई भर्तिकेन्द्र बनाएको,अस्पतालको सेवा स्तर खस्कीदै गएको,अस्पताललाई मदिराको अखडा बनाएको, अस्पतालका लागी आबश्यक उपकरण खरिदमा अनियमितता गरेको, औषधी खरिदमा आफु निकटलाई दिने गरेको लगायतका १० बुद्धे आरोप लगाउदै कारबाही गरिएको जनाएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले आफुमाथी भएको आरोपको सत्य तथ्य छानबिन गरि म माथी गरिएको दुरब्यबहारको कडा कारबाही हुनुपर्ने बताउनु भएको छ । नेकपा बहुमत हु भन्दै मेरो कार्यकक्षमा प्रबेश गरेर अस्पतालका बिषयमा छलफल गर्देगर्दा एकाएक कालोमुसो दलेर दुरब्यबहार गरिएको घटना क्षम्य हुन नसक्ने बताउनुहुदै घटनाका बिषयमा सत्य तथ्य छानबिनका लागी जोडदार माग गर्दछु अध्यक्ष ओझाले बताउनुभयो । अस्पताल बिकास समितिको अध्यक्षमा कार्यरत रहँदा मैले गरेका कामकारबाही कहिकतै कमीकमजोरी छन भने कानुनी दायराभित्र रहेर छानबिनका लागी आफु तयार रहेको तर अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा आएर दुरब्यबहार गरिनु आपत्तीजनक रहेको उहाँको भनाई थियो ।

घटनाको बास्तबिक छानबिन गरिनुपर्ने र दोशी माथी हदै सम्मको कारबाही गर्न सुरक्षा निकायलाई अध्यक्ष ओझाले आग्रह गर्नुभएको छ । अध्यक्ष माथी कालोमुसो दलेर फरार रहेका नेकपा बहुमतका कार्यकर्ताहरुको खोजीकार्य भईरहेको भएपनि अहिले सम्म उनीहरुलाई प्रहरीले नियन्त्ररणमा ल्याउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक बरुणबहादुर सिहले अस्पताल बिकास समितिका अध्यक्ष माथी गरिएको दुरब्यबहार गर्ने ब्यक्तिहरुको खोजीकार्य भईरहेको बताउनु भएको छ ।
डडेल्धुरा अस्पतालका बिषयमा एक साता अघिदेखि बिभिन्न संचारमाध्यहरुमा कुरा उठिरहेको भएपनि डडेल्धुरा अस्पताल र स्थानीय प्रशासनले जनसरोकारका बिषयमा खासै चासो नदिएको गुनासो भने ब्यापक रुपमा उठेको छ । अस्पतालका गतिबिधीहरु प्रति स्थानीयहरु निकै असन्तुष्ट छन तर अस्पताल प्रशासनले गुनासाहरुलाई सम्बोधन गर्नुको साटो मजाकको बिषय बनाएको आरोप समेत लागेको छ । सुदुरपश्चिमको एकमात्रै अस्पतालका रुपमा रहेको संघिय अस्पताल पछिल्लो समय रेफरल अस्पतालका रुपमा परिणत हुदाँ समेत नत अस्पताल बिकास समितिको चासो जान सकेको छ नत स्थानीय प्रशासन कार्यालयको चासो जान नसक्दा बिरामीहरुले नराम्रो सास्ती भोगीरहेका छन ।
अस्पताल लाई कर्मचारी भर्तिकेन्द्रका नाममा भागबण्डा गर्ने र कोटेशनका नाममा आर्थिक लाभ लिने कार्य भईरहेको प्रति समेत नागरिक अगुवाहरुले बेलाबखत चासो र खबरदारी गरिरहेका थिए तर सम्बन्धित निकाय मौन बस्नुको पछाडीको रहश्य समेत खोजीनुपर्नेमा जोड दिईएको छ । अस्पताल भित्र भएका बेथिती र आर्थिक अराजकता र स्वास्थ्य सेवाको अबस्थाका बारेमा गम्भिर छलफल छानबिन गरिनु जरुरी छ तर कानुनी राज्यमा कानुनी उपचार खोज्नुको सट्टा भौतिक आक्रमण र दुरब्यबहार गरिनु किमार्थ राम्रो पक्ष भने होईन ।



