लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख ३० गते । डडेल्धुरामा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा खेलमैदानको अभाब झेल्दै खेलाडीहरु सहभागी भएका छन । जिल्ला स्तरमा खेलमैदानको अभाबका बिचमा खेलाडीहरु बिच प्रतियोगिता भईरहेपनि खुलेर खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन सकीरहेका छैनन । तिन तहका सरकार भएपनि सदरमुकाममा राम्रो खेल मैदान हुन नसक्दा साँघुरो खेल मैदानका बिच खेल खेलाउनुपर्ने बाध्यता रहेको खेलकुद बिकास समिति डडेल्धुराको दाबी छ ।
सुदूरपश्चिम प्रदेशका समाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काले उद्घघाटन गर्नुभएको उक्त राष्ट्रपति रनिङ शिल्ड खेलमैदानको अभाबका कारण प्रतियोगिता संचालन गर्न निकै कठिनाई हुने गरेको खेलाडीहरुले गुनासो गरेका छन ।
खेलकुदको बिकास र खेल मैदानका लागी पहलकदमी गर्ने आश्वासन दिनुहुदै मन्त्री खड्काले निष्पक्ष रुपमा प्रतियोगिता संचालन गर्न आग्रह गर्नुभएको थियो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भटट बिकास,नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थी रास्वपाका जिल्ला सभापति सुरेन्द्र अबस्थी लगायतले खेलाडीहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने थलोका रुपमा लिन सकिने बताउनुभयो ।
जिल्ला सदरमुकाममै एउटा राम्रो खेल मैदान बनाउन नसक्नु कमजोरी रहेको स्विकार गर्नुहुदै उहाँहरुले यसका लागी पहलकदमी लिने गरि अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगायतका खेलहरू खेलाइँदैछन । प्रतियोगिता बुधबार र बिहीबार चल्नेछ । जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराका प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनु भएको छ । स्वास्थ्यका लागी खेल राष्ट्रका लागी भन्ने नाराका साथ आयोजना हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका सातवटै स्थानिय तहबाट खेलाडीहरु पुगेका छन ।

खेलकुद क्षेत्रमा राज्यको लगानी न्युन रहेको भन्दै राष्ट्रपति रनिङ शिल्ड जस्तो गरिमामय प्रतियोगितामा समेत बजेट नआउनु दुखद भएको भन्दै डडेल्धुरा खेलकुद बिकास समितिका अध्यक्ष जगत ऐरले समाजिक सञ्जाल मार्फत प्रतियोगिता सम्पन्न गर्नका लागी आर्थिक सहयोग गर्न खेलप्रेमीहरुलाई आह्वान समेत गर्नुभएको छ ।



