लोकेन्द्र ओझा
डडेल्धुरा,असोज २ गते । राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा आयोजित अमरगढी नगरपालिका स्तरीय सांस्कृतिक प्रतियोगितामा माउन्टेन माध्यमिक विद्यालय, बागबजारले प्रथम स्थान हासिल गरेको छ। अमरगढी नगरपालिका–५ बागबजारमा रहेको माउन्टेन माध्यमिक विद्यालयले अन्य विद्यालयलाई पछि पार्दै प्रतियोगिताको प्रथम स्थान हात पारेको हो। विद्यार्थीहरूले प्रस्तुत गरेको सांगीतिक तथा जनचेतनामूलक प्रस्तुतिलाई निर्णायक मण्डलले उत्कृष्ट ठहर गर्दै माउन्टेन माविलाई विजेता घोषणा गरेको हो। घटाल माध्यमिक विद्यालय नुवाकोट प्रतियोगितामा द्वितीय तथा सहस्रलिङ्ग माध्यमिक विद्यालय राँई तृतीय भएका छन्। त्यस्तै महेन्द्र माध्यमिक विद्यालय खलङ्गा, उग्रतारा माध्यमिक विद्यालय पोखरा र मौरडा माध्यमिक विद्यालय सान्त्वना भएका छन्।
घटाल माध्यमिक विद्यालय नुवाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा अमरगढी नगरपालिकाभित्रका नौवटा विद्यालयले सहभागिता जनाएका थिए।
पछिल्लो समय नेपालमा देखिएको बाढी, पहिरो तथा अन्य विपद्का घटनालाई मुख्य विषय बनाउँदै सहभागी विद्यालयहरूले गीत तथा सांगीतिक प्रस्तुतिमार्फत विपद् जोखिम न्यूनीकरण, सावधानी र जनचेतना सम्बन्धी सन्देश प्रस्तुत गरेका थिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै माउन्टेन माध्यमिक विद्यालयले अमरगढी नगरपालिका स्तरीय सांस्कृतिक कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुति प्रमाणित गरेको छ। विद्यार्थीहरूको कला, प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले विद्यालयस्तरमा सांस्कृतिक प्रतिभा प्रस्फुटनका लागि समेत महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।



