Amargadhi Post

कोरोनाको त्रास ः डडेल्धुरामा मास्क लगाएर परीक्षा दिँदै विद्यार्थी

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन, ३० गते । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा सुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा धमाधम परीक्षा भइरहेको छ ।
डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७ गतेबाट नै सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख रामदत्त भट्टले जानकारी दिएका छन । ‘डडेल्धुराका सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइसकेको छ ।’ अमरगढी नगरपालिका अन्तर्गत कक्षा ५ र ८ को परीक्षा भने आन्तरिक तयारी नपुगेका कारण सञ्चालन नभएको समेत प्रमुख भट्टले जानकारी गराउनुभयो ।


‘सामुदायिक विद्यालयमा निर्धारित समयभन्दा अगावै परीक्षा सञ्चालन गर्नुपरेकाले केही विद्यालयको आन्तरिक तयारी नपुगेको देखिन्छ । यद्यपि परीक्षा भने शान्त वातावरणमा नै सञ्चालन भइरहेको छ ।’ उनले भने, ‘केही निजी विद्यालयको पढाइ पूरा नभएको कारण केही ढिला परीक्षा सञ्चालन गर्ने भनेका छन, सक्दो चाँडो परीक्षा गर्न गराउन मैले प्रयत्न गरिरहेको छु ।
अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुनसकेको छैन । कोरोना भाइरसको संक्रमणमा पर्ने आशंकाका कारण चैत ५ गतेसम्म कक्षा १ देखि ९ को परीक्षा सम्पन्न गरिसक्ने नेपाल सरकारको निर्देशन भएपनि अमरगढी नगरपालिकामा भने कक्षा ५ र ८ को परीक्षा सञ्चालनमा आएको छैन ।
विद्यालयमा ठूलो संख्यामा विद्यार्थी एकै ठाउँमा बसेर पठनपाठन गर्ने भएकाले नेपाल सरकारको निर्देशन अनुसार डडेल्धुराका संस्थागत र सामुदायिक विद्यालयमा तत्काल १ देखि ९ कक्षाको परीक्षा सञ्चालन गर्न समन्वय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन । प्रजिअ पन्तले भने, ‘जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न हामीले सबैमा अनुरोध समेत गरेका छौं ’ जिल्लाभर प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् । जसमध्ये अजयमेरु गाउँपालिकामा ३०, आलिताल गाउँपालिकामा ४३, अमरगढी नगरपालिकामा २९, भागेश्वर गाउँपालिकामा ३३, गन्यापधुरा गाउँपालिकामा २४, नवदुर्गा गाउँपालिकामा २८ र परशुराम नगरपालिकामा ६२ वटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका सूचना अधिकारी केशव जोशीले जानकारी दिएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।