Amargadhi Post

गोविन्द केसीले फेरि थाले अनसन, भारतले मिचेको भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न माग

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा, जेठ २० गते । मेडिकल क्षेत्रमा सुधारको माग गर्दै आएका प्राध्यापक डा। गोविन्द केसीले दार्चुला पुगेर अनसन थालेका छन्। विभिन्न तीन बुँदे माग राख्दै मंगलबार बिहान १० बजेबाट डा। केसीले अनसन थालेका हुन् ।

डा। केसीले गेटा मेडिकल कलेजलाई चाडोभन्दा चाडो सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्नसहितका माग राखेका छन् ।

दार्चुला तथा अन्य सीमा क्षेत्रसहित देशभर यातायातको सहज पहुँच निर्माण गर्नु पर्ने, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउनुपर्ने, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग उनले अघि सारेका छन् ।

भारतले लिपुलेकमा सडक बनाएको समाचार आएसँगै सिङ्गो देश तरङ्गित भएको छ र राष्ट्रवादी नाराहरू उरालिएका छन्। तर, सीमाञ्चलमा पुगेर यहाँका नागरिकको दुस्ख पीडा बुझ्ने धैर्य र जाँगर कसैसँग छैन। नेताहरूलाई त आफ्नै जिल्लामा अर्बौंका भ्युटावर बनाउनबाट फुर्सद् छैन, दुर्गमका बारेमा उनीहरूले कहिल्यै सोचेकै छैनन् । सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिँदा, दुई छाक जोड्नका लागि विदेशिएर हेपिँदा र ठगिँदा, फर्कने क्रममा लुटिँदा हाम्रो राज्यका हर्ताकर्ताहरूलाई केही फरक परेको छैन।

उनले २१ गतेसम्म सत्याग्रहमा रहने बताएका छन् । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा। केसी पटकपटक अनसन बस्दै आएका छन्। यसअघि उनी १७औँ पटक डडेल्धुरामा अनसन बसेका थिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।