लक्ष्मी ऐर
डडेल्धुरा,साउन,११ गते । डडेल्धुराको भागेश्वर गाउपालिका–४ की १५ वर्षीय बालिका बलात्कृत भएकी छन । मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको रहश्य सार्बजनिक भएको छ ।
उनलाई सोही ठाउँका अन्दाजी ५२ वर्षीय डम्बरसिंह साँउद र ४५ वर्षीय भोजबहादुर साँउदले बलात्कार गरेको बालिकाले बताएकी छन । दिउँसो गाईबाख्रा चलाउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाले आफन्तलाई बताएपछि घटना सार्बजनिक भएको हो ।
बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको जानकारी पाएको पिडित बालिकाकी आमाले बताइन । नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीत बलिकाले बताएकी छन । आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाका आफन्तहरुले उजुरी दर्ता गराएका छन ।
अहिले प्रहरीले आरोपित मध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताउनुभयो । उनका अनुसार एक जना बालिकाका हजुरबुवा र एक जना काका नाता पर्छन । उजुरीपछि दुवै जनालाई पक्राउ गरी अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
