अमरगढी रैबार सम्बाददाता
रौतहट,भदौ,२५ गते । थुनुवाको मृत्यु प्रकरणमा एसपी रविराज खड्कासहित ६ प्रहरी बिरुद्ध जाहेरी दर्ता भएको छ । हिरासतमा रहेका एक युवालाई यातना दिएका कारण मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालीन एसपी खड्का सहित जिल्लाका ६ प्रहरीविरुद्ध जाहेरी दिएका हुन ।
मृतक विजय रामका पिता पनिलाल रामले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न एसपी खड्का सहित ६ प्रहरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा बुधबार जाहेरी दर्ता गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गरुडाले यसअघि जाहेरी दर्ता गर्न मानेका थिएनन् । हिरासतमा यातना दिएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नवीन कुमार सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर तानिएका छन् भने गरुडाका डीएसपी महत्तो प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएका छन् । प्रहरी निरीक्षक सिंह र दुई हवल्दार निलम्बनमा छन् । दर्ता भएको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको जानकारी दिएको छ । गत साउन ३१ गते घाँटी रेटेर भएको निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय रामको हिरासतमा रहेका बेला प्रहरीको यातनाका कारण भदौ ११ गते उपचारको क्रममा मृत्यु भएको परिवारको आरोप छ ।
थुनुवालाई चरम यातना दिएर हत्या गरिएको र दोषीलाई जोगाउन आर्थिक चलखेल भएको भन्दै परिवारका सदस्यसहित दलित संगठन आन्दोलनमा छन् । दलित अगुवा धर्मेन्द्र पासवानले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
