लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक १४ गते । डडेल्धुराको अमरगढी नगरपालिका –८ डकलेका स्थानीय बर्षौदेखी खानेपानीको समस्या भोग्दै आएका छन । करिब ४८ बर्षदेखी नै आफुहरुले खानेपानीको समस्या भोग्दै आएको गुनासो स्थानीयको छ । धारामा ३ महिनापछि बल्ल आज शनीवार पानि आउँदा समुदायका नागरीकहरु पानि भर्नमै व्यस्त थिए ।
तर एकछिनका लागि मात्र आउने पानी आफुहरुको लागि पर्याप्त नभएको स्थानीय शेरबहादुर साँकीले बताउनुभयो । पानी भर्नकै लागि २÷३ घण्टाको पैदल दुरीमा जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
करिव ६८ घरपरिवार रहेको सो समुदायका नागरीकहरु पानी भर्नकै लागी घरको एकजना सदस्यलाई छुट्टाएर राख्नुपर्ने अवस्था आएको बताउँछन । पानी नहुँदा समुदायमा रहेका बालबालीका, गर्भवती महिला तथा बृद्धबृद्धाहरुले निकै सास्ती भोग्नु परेको अर्का स्थानीय महिला धनाकुमारी साँकीले बताईन ।
‘पानी बोक्दा बोक्दै कपालमा रौँ समेत झर्ने अवस्थामा अझै पनि पानीकै लागि रातदिन नभनी जोहो गर्नुपर्ने बाध्यता कहिले आउँला ।’ उनले भनिन ‘अब जसले पानी ल्याउछ उसलाई मात्र भोट दिन्छौ । नत्र भने भोट समेत हाल्दैनौ ।
चुनावका बेला मात्र सो धारामा आउँने पानी अन्य समयमा भने कता जान्छ आफुहरुलाई केहि पत्तो नहुँने उनीहरुको भनाई छ ।
धारामा पानी नहुँदा स्थानीयले दैनीक सरसफाई, शौचालयको लागी निकै समस्या भोग्नु परेको गुनासो गरेका छन । जिल्ला सदरमुकाममा खलंगा खानेपानी उपभोक्ताको टंयाङकीबाट ओभरफुल भएर मात्र आएको पानी सो समुदायमा कहिलेकाही आउँने गरेको उनीहरु बताउँछन । निर्वाचनका बेला स्थानीय सरकारले घर नजिकै खानेपानी पु¥याउछौ भनेपनि अहिलेसम्म सो समुदाय पानीकै लागी तड्पीरहेको छ । समुदायमा रहेको यो खानेपानीको समस्या भने तत्कालै हट्न नसक्ने अमरगढीका नगर प्रमुख बिशेश्वरप्रसाद ओझाले बताउनुभयो । उनले यसको समाधान खलंगा खानेपानी मात्र भएकाले सो खानेपानीसंग समन्वय भइरहेको जानकारी दिएका छन ।
