लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,१० गते । डडेल्धुराका ६ हजार एक सय ८७ बालबालिकाहरूलाई पोलियो रोगविरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
जिल्लाका सातवटै स्थानीय तहमा जेठ १३ गतेदेखि २६ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । उनका अनुसार २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप लगाउन लागिएको हो ।
आईपीभी खोप अभियान सञ्चालनका लागि २४० खोप केन्द्र तोकिएको भेक्टर कन्ट्रोलर निरीक्षक भट्टले बताउनुभयो । जिल्लाका ५२ वटै वडाका विभिन्न विद्यालयमा खोप केन्द्र ताकिएको हो ।
नवुदर्गा र भागेश्वर गाउँपालिका तथा परशुराम नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, अमरगढी नगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म, अजयमेरु तथा आलिताल गाउँपालिकामा जेठ १३ देखि १७ गतेसम्म र गन्यापधुरा गाउँपालिकामा जेठ १३ देखि १६ गतेसम्म आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले जानकारी दिनुभएको छ । उनका अनुसार खोप दिने स्वास्थ्यकर्मी २४० र स्वयंसेवक ४४५ जना खटिनेछन । उनीहरूलाई आवश्यक तालिम दिइसकिएको कार्यालय प्रमुख साउँदले बताउनुभयो ।
उनले कुनै पनि बालबालिका आईपीभी खोपबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले खोप अभियानको तयारी लगभग पूरा भएको जानकारी दिएका छन । ‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न लागिएको हो,’ उनले भने, ‘नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई आईपीभी खोप लगाउने तयारी छ । सोहीअनुसार डडेल्धुरामा पनि यो अभियान सञ्चालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौँ ।


