Amargadhi Post

एमाले पोलिटब्यूरो बैठक स् पूर्वराष्ट्रपति बिद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने पक्षमा उभिए अधिकांश नेता

अमरगढी पोष्ट समाचार
काठमाडौं, साउन ३ । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज सकाउने तयारी गरिएको छ । शुक्रबारदेखि जारी एमाले पोलिटब्यूरो बैठक आज सक्ने तयारी सहित नेताहरुले आफ्नो धारणा राखेका हुन ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै सकाउनु पर्ने आग्रहसहित छोटकरीमा आफ्नो प्रष्ट सुझाव राख्न निर्देशन दिनुभएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म ६० भन्दा बढी सदस्यले आफ्नो धारणा राखिसकेका छन । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । सदस्यहरूले धारणा राखेपछि अध्यक्ष ओलीले जवाफ दिनुहुनेछ ।

एमालेको विधान संशोधन प्रस्तावमा पार्टीको विधान ९२०७८ संशोधन० को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । त्यस्तै, पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको संख्या २५१ रहने तथा पदाधिकारी मात्रै रहने गरी सचिवालयको साटो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ । प्रचार विभाग प्रमुख गौतमले विधान संशोधन प्रस्तावबाहेक ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्व उपराष्ट्रपति विद्या भण्डारीको सक्रियता लगायतको विषयमा केन्द्रित रहेर नेताहरूले धारणा राखेको जानकारी दिनुभयो । एमालेले पूर्वराष्ट्रपति बिद्या भण्डारीको सदस्यता नविकरण होल्डमा राखेर नेताहरुको सुझाव लिएको छ । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नविकरण गर्न हुने कि नहुने भन्ने सुझावको आधारमा निर्णय लिइने जानकारी गौतमले दिनुभयो ।

गौतमका अनुसार बैठकमा धेरैजसो नेताहरुले पूर्वराष्ट्रपति पार्टीको जिम्मेवारीमा फर्कन नहुने धारणा राखेका छन । बैठकमा बिद्या भण्डारीलाई घरमै गएर उचाल्ने नेताहरुसमेत आफ्नो धारणा बदलेर गणतन्त्रको संस्थागत बिकासमा बाधा उत्पन्न हुने भन्दै यूटर्न गरेका छन । पोलिटब्यूरो सदस्यको धारणापछि पदाधिकारीसमेत समन्वयकारी भूमिकातिर लागेको पाइएको छ । बैठकमा नेताहरूले पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका विषयमा पनि कुरा राखेका छन । एमालेको विधान महाधिवेशन आउँदो भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।

सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र बिधान संशोधन प्रस्ताव बनाउन एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटब्यूरोपछि ५ गतेबाट केन्द्रीय कमिटी बैठक बस्दैछ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।