
मानबहादुर साँउद
डडेल्धुरा,असोज,१२ गते । डडेल्धुरा बसपार्कमा आईतबार एक औपचारिक कार्यक्रमका बिच ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा आएको छ । दुर्घटनालाई न्यूनीकरण गर्र्ने उदेश्य र दशै तथा तिहारमा यात्रुहरुलाई सहज रुपमा गनतब्य पु¥याउन सहज बनाउनका लागी जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ५२ नं. गुल्मको संयुक्त आयोजनामा नागरिक सहायता कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले गर्नुभएको थियो । सहायता कक्षको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रुहरुको सहज यात्रा र चालकहरु अलि बढी जिम्मेवार बनाउनका लागी यो प्रयास गरिएको बताउनुभयो ।
यात्रु र चालक दुबै जिम्मेवार बन्नुपर्ने भन्दै प्रजिअ पौडेलले चाडबाडको बेलामा सुरक्षित यात्रा गर्न गराउन हुन समेत आग्रह गरे । सवारी दुर्घटना बढीरहेका बेला सवारी चालक अलि बढी जिम्मेवार बन्नुपर्ने धारणा राख्नुहुदै प्रजिअ पौडेलले चालकहरुलाई दोसल्ला,फुलमाला र टिका लगाई यात्राको मंगलमय कामना सहित सम्मान गरेको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले चाडबाडका बेलामा यात्रुहरुलाई मर्काहुने काम नगर्न हुन सवारी चालकलाई आग्रह गर्नुभयो । सवारी चालक जिम्मेवार भए दुर्घटना न्युनिकरण हुने बताउनुहुदै प्रनाउ न्यौपानेले दशै तिहारलाई लक्षित गरि सहायता कक्ष संचालनमा ल्याएको बताउनुभयो । प्रहरीको नेतृत्वमा देशैभर सहायता कक्ष संचालन गरि दशै तिहारमा अप्रिय घटना घट्न नदिन र सही गनतब्यमा यात्रुहरुलाई पु¥याउनका यात्रुहरुका गुनासाहरुलाई सम्बोधन रहने गरि बसपार्कमा हेल्प डेस्कको स्थापना गरिएको जानकारी दिनुभयो ।
यात्रुहरुबाट बढी भाडा लिएमा, यात्रुहरुको समानहरु हराएमा, सवारीसाधनमा बढी यात्रु राखेमा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाएमा, आक्षरण सिटअनुसार यात्रुहरुलाई नबसाइएको पाएमा सहायता कक्षमा सम्पर्क गर्न समेत यात्रुहरुलाई प्रहरी नायव उपरीक्षक न्यौपानेले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउद,सामुदायिक सेवा केन्द्र
का अध्यक्ष गोबिन्द खडायत,अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष खेमराज पाठक लगायतले सहायता कक्षको प्रशंसा गर्दे दशै तिहारको पावन अबसरमा सम्पुर्ण नेपालीजनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका थिए ।
चालकहरु सम्मानित
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाउन चालक तथा सहचालकहरुलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेलगायतले सवारी चालकहरुलाई खादा, अविर र माला लगाइदिएर सम्मान गरेका हुन ।
चाडपर्वका बेला हुने दुर्घटना रोक्न चालकलाई फूलमाला र अविर लगाएर शुभकामना पनि दिइएको छ । सुरक्षित यात्राका लागि प्रहरीले शुभकामना अभियान सुरु गरेको हो। चालकलाई सम्मान गर्दै सुरक्षित यात्राका लागि सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।




