Amargadhi Post

समाजिक एकता क्लबको अगुवाईमा अमरगढी किल्लाको सरसफाई

मानबहादुर साँउद
अमरगढी,असोज,२६ गते । पर्यटन बर्ष २०२० लाई सफल तुल्याउनका लागी समाजिक एकता क्लब डडेल्धुराको अगुवाईमा ऐतिहासिक अमरगढी किल्लाको सरसफाई गरिएको छ । समुद्री सतहबाट ६ हजार ५ सय फिट उचाईमा रहेको ऐतिहासिक अमरगढी किल्ला जिल्ला सदरमुकाममै रहेको छ ।
सामाजिक एकता क्लव डडेल्धुराको अगुवाइमा भएको सरसफाई अभियानमा सुदुरपश्चिम प्रदेशसभाका माननीय सांसद एबम नेपाली काग्रेस डडेल्धुरा सभापती कर्णबहादुर मल्ल र अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझा समेत सहभागी हुनुहुन्थ्यो । आगामी दिनमा पनि सरसफाइलाई निरन्तरता दिइने क्लवले जनाएको छ । द्वन्द्वकालमा नेपाली सेना बसेको उक्त किल्लामा अहिले सेनाले छाडेपछि उचित सरसफाई र संरक्षण नहुँदा किल्ला जीर्ण बन्न थालेको छ ।


गत वर्ष नेपाल सरकारले छनौट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको भएपनि किल्ला संरक्षणमा स्थानीय सरकार र किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले ध्यान नदिँदा जीर्ण बन्न थालेको हो । किल्ला बाहिर पेटी निर्माण गरिएको छ । तर, त्यो पनि अधुरै रहेको छ । अमरगढी नगरपालिकाले भने योजनाबद्ध रुपमा किल्लाको संरक्षण गर्ने जनाएको छ ।
किल्लाको दूराअवस्था देखेर हिनताबोध भएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशसभा सदश्य कर्णबहादुर मल्लले किल्लालाई व्यवस्थित गर्न सकिए ऐतिहासिक पर्यटनको गनतब्य बन्ने बताउनुभयो ।
सबैले आ–आफ्नो क्षेत्रबाट यसको प्रचार–प्रसारमा अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । डडेल्धुराको सदरमुकाम बागबजारदेखि किल्लासम्मको बाटोलाई व्यवस्थित बनाउनुपर्नेमा उहाँको जोड थियो । चालू आर्थिक वर्षमा संघीय सरकारले किल्लाका लागि ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिनुभएको छ ।
सय नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी किल्ला पनि परेकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट थप ५० लाख रुपैयाँ किल्लाका लागि आउने आश्वासन पाईएको नगर प्रमुख ओझाको भनाई रहेको छ । डडेल्धुराको अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो ।
नगरपालिकाको स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । तर, २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत राखेको थियो । किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो । २०५८ देखि २०६६ सालसम्म किल्ला नेपाली सेना मातहत राखिएको थियो । स्थानीयको पटक–पकटको आग्रहपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको छ ।
बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला अत्याधुनिक ढुंगा र कलात्मक तरिकाले बनाइएको छ । किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ । त्यस्तै, युद्ध छल्न तथा युद्ध जित्नका लागी यो किल्ला निर्माण गरिएको जानकारहरु बताँउछन ।
अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ ।
छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन । सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्लाको अबलोकन गरेरै फर्किन्छन । विषेशगरि सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन । सडक मार्ग भएर यहाँ जहजै रुपमा पुग्न सकिन्छ । सरकारले पर्यटन बर्ष २०२० लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नेभनिएपनि यहाँका सम्भाबित पर्यटकी धामहरुको प्रचार प्रशार हुन नसक्दा ओझेल परिरहेको समाजिक एकता क्लब डडेल्धुराका अध्यक्ष रबिन्द्र केसीले बताउनुभयो ।
डडेल्धुराको सदरमुकाममै रेहेको एतिहासिक पर्यटकीय धामको सरसफाई नभएर कुरुप बन्दै गईरहेको देख्दा आफुहरुलाई सह्य नभएर सरसफाईको थालनी गरेका हौं केसीले भन्नुभयो— पर्यटकी क्षेत्रहरुको पहिचान गरेर संरक्षण सम्बद्र्धन र प्रचार प्रशार गरि पर्यटक भित्रयाउन स्थानीय सरकार,प्रदेश र संघिय सरकारहरुले बजेट छुट्याउनुपर्ने आबश्यकता महसुस भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।