अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,७ गते । डडेल्धुरा कारागारका कैदीबन्दीहरु सोमबार देखि आन्दोलित भएका छन । उनीहरुले पाउदै आएको न्यानो लुगा बाफतको ४ हजार रकम उपलब्ध यो पटक उपलब्ध हुन नसकेपछि कारागार प्रशासन बिरुद्ध आन्दोलित भएका हुन ।
कैदीहरुको आन्दोलनपछि कारागार बाहिर सुरक्षा ब्यबस्था कडा पारिएको थियो । कारागारमा रहेका १३२ जना कैदी बन्दीका लागी ४ हजारका दरले रकम नपुग्ने भएपछि बितरण हुन नसकेको जिल्ला कारागार डडेल्धुराका जेलर सन्तोश भट्टले बताउनुभयो ।
सबै कैदीहरुलाई तिनहजार रुपैयाका दरले बितरण गर्न सकिने बजेट रहेको र थप बजेटका लागी माथिल्लो निकायमा पत्रचार गरिएको भट्टको भनाई थियो । कैदीबन्दीहरुलाई सम्झाई बुझाई गरिएपनि पुरापुर रकम नहुदा सम्म आफुहरु रकम नबुझ्ने बताएपछि बितरण हुन नसकेको उहाँको भनाई थियो । बजेट बिनियोजन हुदा यती रकम मात्रै उपलब्ध भएको र बाकी रकमका बिषयमा पत्रचार भईरहेको र अहिले पुरा रकम दिन सकीने अबस्था नरहेको भट्टको भनाई थियो ।
डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले कारागार नियम अनुसार जाडोको कपडा बापत ४ हजार रुपैयाँ पाउनुपर्ने व्यवस्था रहेको भएपनि बजेट न्युन भएकाले समस्या देखिएको बताउनुभयो ।
कुल बजेट ३ लाख ५० हजार रहेकाले कैदीबन्दीको संख्याअनुसार रकम नपुग्ने अवस्था देखियो त्यसका बिषयमा छलफल भईरहेको सहायक प्रजिअ ओलीले बताउनुभयो । ‘विभाग र मन्त्रालयमा रकम निकासाका लागि जानकारी गराइसकेका छौं, समस्या समाधान हुन्छ होला उहाँले जानकारी दिनुभयो ।

