अमरगढी पोष्ट दैनिक
डडेल्धुरा,साउन,१९ गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल पोसाक लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरे । उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए । ’प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महसुस गर्न यो संसद्ले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्यानाकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुस्,’ उनले भने ।
सुस्ताको जमिनमाथि फेरि चोट पुगेको भन्दै उनले देश सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको बताए । सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्नसमेत माग गरे । पश्चिम नवलपरासीको सुस्तामा आएर एसएसबीले अस्थायी बाँध भत्काइदिएको थियो । आइतबार दिउँसो ३ बजेतिर एसएसबी आएर सुस्ता गाउँपालिका–५ थारूटोलास्थित अस्थायी तटबन्ध भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गरेका थिए ।
नारायणी नदीमा भइरहेको तटबन्धमा भारतीय पक्षले रोक लगाएपछि बस्ती जोगाउन सुस्तावासीले केही दिनअघि माटोको बाँध बाँधेका थिए । यसअगाडि सुस्तास्थित नारायणी नदीमा १ सय ३२ मिटर क्षेत्रमा भारतीयले सुरक्षाकर्मीले तटबन्ध गर्न रोक लगाउदा विवाद भएको थियो । सुस्तामा तटबन्ध निर्माणको काम भइरहेको छ । निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए ।


