जीवन शर्मा
काठमाडौं,पुस ९ गते । चुनाव नजिकिएसँगै वैकल्पिक शक्तिका रूपमा उदाउँदै गरेका नयाँ दलहरूको ध्रुवीकरणले राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ । विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति करिब ६ घण्टा वार्ता भएको थियो ।
रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालयमा भएको वार्तापछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए । यो भेटवार्ताले राजनीतिमा नयाँ ध्रवीकरणको जग हाल्ने संकेत गरेकोे छ । नेताहरूबीच भएको संवादसँगै राजनीतिक बजारमा फरक कोणबाट बहस चलेको छ । रास्वपाका सभापति लामिछानेले नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए । चितवन अदालतमा तारेख लिन पुगेका लामिछानेले मंगलबार सञ्चारकर्मीमाझ बालेनसहित अन्य शक्तिहरूसँग पनि संवाद जारी रहेको बताएका छन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका छौं कि परिवर्तनमा लाग्नुभएका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसलाई निष्कर्षमा पु¥याउनेगरी अहिले संवाद सुरु भएको छ ।’
उनीहरुबीच भएको लामो अन्तरंग भेटवार्ताका विषय बालेन र रविबाहेक कसैलाई थाहा छैन । तर उनीहरूबीच पदीय भागबन्डा समेतको विषयमा न्यूनतम समझदारी जुटेको बताइएको छ । स्रोतका अनुसार बालेन र रविबीच एउटै पार्टी बनाएर अघि बढ्ने र शक्ति बाँडफाँट कसरी गर्ने रु भन्ने विषयमा पनि छलफल भएको छ । सो छलफलमा बालेनलाई आगामी निर्वाचनमा घण्टी चिन्ह लिएर भावी प्रधानमन्त्रीको रूपमा उम्मेदवार बन्ने समझदारी बनेको बालेननिकट स्रोतको दाबी छ । सहकारी ठगीको मुद्दाको झमेलामा परेका रास्वपा सभापति लामिछानेलाई कानुनी बाधा पर्नसक्ने आंकलनसहित बालेनलाई प्रधानमन्त्रीका बैकल्पिक उम्मेदवारको रुपमा छलफल अघि बढेको नेता असिम साहले संकेत गरे । आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा गए बालेन रास्वपाको घण्टी चुनाव चिह्नलाई स्वीकार्न पनि तयार देखिएका छन् । तर लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे छलफल भइनसकेको प्रष्टिकरण दिएका छन् । सभापति लामिछानेले भने, ‘हामी अहिले नै त्यो चरणमा प्रवेश गरेका छैनौं । पहिला त कुराकानी हुनुप¥यो, एकअर्काको विचार र परिस्थिति बुझ्नुपर्यो । हतार नगर्नुस्, बिस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्छ ।’
पहिलो चरणमा बालेन, कुमार बेन, रवि र असिम साहबीच करिब ४५ मिनेट संयुक्त छलफल भएको र त्यसपछि असिम र कुमार बेनलाई बाहिर राखेर रवि–बालेनबीच ४ घण्टाभन्दा बढी समय एक्लाएक्लै छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा सँगै रहेका रास्वपा उपसभापति डिपी अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको अवस्था र आगामी चुनावलाई लिएर विस्तृत छलफल भएको बताए । ‘पहिलो त भर्खरै पितृशोकबाट बाहिर आउनुभएका बालेनजी र लामो समय जेल बसेर आउनुभएका रविजीबीच व्यक्तिगत कुराकानी भयो,’ अर्यालले भने, ‘त्यसपश्चात् भदौ २३ र २४ का बारेमा बढी केन्द्रित भएर कुराकानी भयो । सो घटनापछि नेपालको राजनीतिमा परेको प्रभाव र आगामी प्रतिनिधि सभा निर्वाचनमा कसरी सहकार्य गर्न सकिन्छ रु भन्नेबारेमा सुखद कुराकानी भयो । द्विपक्षीय छलफलपश्चात् हामी सकारात्मक र उत्साहित छौं ।’ बालेन र रविबीच भेटवार्ताको प्रबन्ध मिलाएका असिम साहले छलफल सौहार्दपूर्ण भएको र एकताको सन्देश दिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ,’ साहले लेखेका छन्, ‘यसको सन्देश के हो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो । रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’
रुपन्देहीबाट धरौटीमा रिहा भएलगत्तै चितवनको चौबिसकोठीमा सम्बोधन गर्दै लामिछानेले देश बन्ने सर्तमा आफू सबै त्याग्न तयार रहेको बताएका थिए । उनको पछिल्लो लचिलोपनले नयाँ शक्तिबीचको ध्रुवीकरणलाई सहज बनाएको बताइएको छ । नयाँ दलहरूले वैकल्पिक शक्ति निर्माण गर्दै मुुलुक र नागरिक हितमा काम गर्ने ठोस योजना ल्याउन सके उनीहरूबीचको मिलन सुखद हुने विश्लेषण हुन थालेको छ । जेनजी आन्दोलनपछि पुराना दल नै अहिलेका सबै समस्याको कारक भएको भाष्य निर्माण गरिएको छ । तर नयाँ र पुरानाभन्दा पनि उनीहरूको मुलुुक बनाउने नीति कार्यक्रम र योजनाका आधारमा आमनागरिकले समर्थन वा विरोध गर्ने वातावरण बन्नुपर्ने विश्लेषकहरू बताउँछन् । विश्लेषक डा। दीपेश घिमिरेले नयाँ शक्ति एकजुट हुनु सकारात्मक भए पनि उनीहरूका योजना के हुन् रु भन्ने विषयको उत्तर आमरूपमा खोजिएको टिप्पणी गरे । घिमिरेले मध्यान्हसँग भने, ‘जेनजी आन्दोलनपछि राजनीतिमा नयाँ र पुुराना भन्ने भाष्य निर्माण गरिएको छ । नयाँ शक्तिहरू मिल्नु ठिकै हो । तर किन मिल्ने रु भन्ने प्रश्नको उत्तर आमनागरिकले खोजेका छन् । नयाँका नाममा व्यक्तिव्यक्ति मिलेर पद विभाजन गर्दै पहिलाकै निरन्तरता दिन खोजेको हो भने त्यसको अर्थ छैन ।’ जेनजी आन्दोलनको मर्म र देशको आवश्यकता को को मिल्दै छन् भन्दा पनि के एजेन्डा, नीति तथा कार्यक्रम लिएर मिल्दै छन् भन्ने विषयले अर्थ राख्ने उनको टिप्पणी छ ।
सहकारी ठगी काण्डमा पाँचवटा अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने अदालतकै आदेशमा गत शुक्रबार जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँबराबरको बैंक जमानत बुझाएर थुनामुक्त भएका थिए । त्यसपछि उनको राजनीतिक सक्रियता बढेको छ । लामिछानेले सुरुमा जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पताल पुगेर भेटेका थिए । त्यस्तै, आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका उनले सोही रात नै असिम साहको घरमा बालेन संक्षिप्त भेटवार्ता गरेका थिए ।
लामो समय सत्ता र शक्तिमा बसेका पुराना दल र तीनका शीर्ष नेताहरूको सिन्डिकेट तोड्न रवि–बालेन छलफलले सकारात्मक सन्देश प्रवाह गरेको रास्वपाका नेता गणेश पराजुलीले बताए । ‘देशमा विद्यमान पुराना राजनीतिक दलहरूको सिन्डिकेट तोड्न सबै वैकल्पिक शक्ति एकजुट भएर मूलधारको राजनीतिक शक्ति निर्माणको आवश्यकता छ । त्यसैअनुसार नेताबीच संवाद प्रारम्भ भएको कुराले आमरूपमा सकारात्मक सन्देश प्रवाह भएको छ’ उनले भने । आगामी आमनिर्वाचनमा बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङजस्ता परिवर्तनका पक्षधर नयाँ शक्तिहरू एक ठाउँ उभिनुपर्नेमा उनको जोड छ ।
यसै क्रममा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबारे पनि छलफल भएको बताइन्छ । यसअघि कुलमान र बालेनबीच पनि भेटवार्ता भएको थियो । पछिल्लोपटक नयाँ दल र जेनजी अगुवाबीच छलफल अघि बढेकाले मुलुक नयाँ राजनीतिक कोर्समा जाने अपेक्षा गरिएको नेताहरूले बताएका छन् ।


