लक्ष्मी ऐर
डडेल्धुरा,पुस,१२ गते । डडेल्धुराको अजयेमरु र आलिताल गाँउपालिका भित्र भएका छुट्टा छ्ट्टै दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन भने एकको अबस्था गम्भिर रहेको छ ।
आलिताल गाँउपालिकामा अटो र जिप एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाईते भएका हुन ।
बिपरित दिशाबाट आइरहेको म १ च ४४१ नम्बरको जिप र बुडरबाट जोगबुडा जाँदै गरेको भि.न.पा. ००१ ह ०४०८ नम्बरको अटो आलिताल–४ जाल्टुडामा एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका १० जोजला बस्ने २६ बर्षिया राम बहादुर बराल मगर रहेका छन् । अछामको पञ्चदेवल नगरपालिका– ३ बस्ने बर्ष २१ की सबिता थापा मगरको अवस्था गम्भिर रहेको छ । हाल उनको जोगबुडा अस्पतालबाट रेफर गरेर धनगढी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
चालक सहित ३ जना सवार रहेको उक्त अटो करिब ८ः४० बजे दुर्घटना भएको हो । अटो चालक गोपाल मगर फरार रहेका छन भने जिप चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उता अजयमेरु गाँउपालिकामा तरुल खन्न गएकी एक महिला भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–२ बसनास्थित ४५ वर्षीया पार्वती ऐर तरुल खन्न जंगल गएको बेला भिरबाट लडेर बसना खोलाको तालमा डुबेर मृत्यु भएको थियो ।
घटनापछि रातभर स्थानीयले खोजी तथा उद्धार प्रयास गरेपनि शव निकाल्न सफल हुन सकेनन । शुक्रबार बिहान सशस्त्र प्रहरी बलको सहयोगमा उनको शव पानी तालबाट निकालिएको थियो ।
अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्टका अनुसार स्थानीयले खरखेत तालबाट शव निकाल्ने प्रयास गरेपनि सफल हुन नसकेपछि सशस्त्र प्रहरीको सहयोग लिनु परेको हो । घटनापछि बसना गाउँ शोकमा डुबेको छ । मृतक पार्वतीका दुई छोरी र दुई छोरा छन ।



