Amargadhi Post

रवि बालेनबीच सम्झौता हुँदा छुटे कुलमान

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,पुस,१३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच रातभरको छलफलपछि ७ बुँदे समझदारी हुँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ चाँहि छुटेका छन् ।
बिहान करिब ४ बजे भएको समझदारीमा घिसिङबारे केही उल्लेख छैन । बैठक स्रोतका अनुसार, उनी छलफल चलिरहेको स्थानबाट राति नै निस्किएका थिए । केही दिनदेखि चलिरहेको वार्तामा मेयर बालेनले कुलमानलाई समेत समेटेर लैजाने मोडालिटीमा छलफल गरिरहेका थिए । तर, शनिबार मात्र उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकले रवि सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने गरी वैकल्पिक शक्ति एक ठाउँमा हुने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि बेलुकी बालेन र कुलमानबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो ।

‘उहाँहरुबीच हिजो बेलुकी ७ बजेदेखि वान अन वान वार्ता भएको थियो, दुई जनाबीच के(के कुरा भयो भन्ने चाँहि जानकारी भएन,’ रास्वपा र बालेनसँग संवादमा रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा। अभिषेक सिंहले कान्तिपुरसँग भने । कुलमाननिकट नेताहरुका अनुसार, उनले सम्मानजनक उपस्थिति खोजेका थिए । विगतमा सभापति लामिछाने कारागारमै भएका बेला पार्टीमा ल्याउने गरी पटक(पटक छलफल गरिसकेका रास्वपा नेताहरु यसपटक चाँहि बालेनसँग मात्र समझदारी गर्न चाहन्थे ।

तर, बालेन पक्षले चाहि कुलमान र जेन(जीको समूहलाई पनि एकैपटक समेटेर लैजानुपर्ने भन्दै ५० प्रतिशत हिस्साको प्रस्ताव गरेका थिए । ‘कुलमानसँग पहिल्यै कुरा गरिसकेका थियौं, त्यस्तोमा उहाँसँग वेग्लै फेरि कुरा हुनसक्छ । तर, यही बेला अडान नराखौं भनेका थियौं,’ रास्वपाका एक नेताले भने । रास्वपाले विवेकशील साझा पार्टीलाई एकीकरणमा ल्याएपछि १४ मंसिरमा बालेनले कुलमानसँग भेट गरेका थिए । कुलमाननिकट एक नेताका अनुसार त्यस भेटमा बालेनले उज्यालो नेपाल पार्टीमा सदस्य बनेर सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसपछि सहमतिमै दुई जनाको तस्बिर सामाजिक सञ्जालमा राख्दै कुलमानले ‘देश बनाउने अभियानमा सँगै छौं’ लेखेका थिए । तर, बालेनले रास्वपासँग छुट्टै समझदारी गर्न लागेपछि कुलमानले असन्तुष्टि जनाएका थिए । त्यसपछि बालेनले शनिबार बिहान ८ बजे नै कुलमानसँग भेट गरेका थिए । बेलुकी उनको पोखरा जाने कार्यक्रम थियो । तर, त्यसलाई रद्द गरेर बालुवाटारमा संवादमा बसेका थिए ।

अहिले भएको रास्वपा–बालेन समझदारीमा छुटे पनि उज्यालो नेपाल पार्टीमा वैकिल्पक शक्ति एकठाउँमा आउनुपर्ने मत बलियो छ । पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराई भन्छन्, ‘अहिले आत्मसम्मानको विषयलाई थाँती राखेर राष्ट्रिय निकास दिने विषय महत्वपूर्ण हो, पार्टीमा ठूलो तप्का मिलेर गएर देशलाई राजनीतिक निकास दिनुपर्छ भन्ने पक्षमा छौं ।’ पार्टीमा यसबारे निरन्तर छलफल हुने समेत उनले बताए । रवि र बालेनबीच भएको समझदारीमा पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घन्टीमा गोलबद्ध भएर लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने समेत उल्लेख छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।