टेकराज अवस्थी
डडेल्धुरा जिल्लामा पहिलो पटक गठन भएको निगरानी समूहले स्वास्थ्य सेवाको अवस्था बारे जानकारी लिन अनुगमन तथा निगरानी गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख संगिता भण्डारी, नागरिक समाज सदश्य तथा निगरानी समूहका सदश्यहरु शिवराज पाठक मन्जु भण्डारी, सुनिता गैरे र सदश्य सचिव टेकराज अवस्थी सहितको निगरानी टोलीले अमरगढी नगरपालिका वडा नं. १० राँई स्थित सहश्रलिङ्ग स्वास्थ्य चौकीको अनुगमन नियमन तथा निगरानी गरिएको हो ।
जनतालाई सेवाप्रवाह गर्ने सार्बजनिक निकायहरु तथा सरकारी गैर सरकारी संस्थाहरुको सार्बजनिक महत्वका जनसरोकारका बिबिध विषयमा अनुगमन गरि पारदर्शिता र जवाफदेहिता स्थापित गरि सुशासन प्रबद्र्धन गर्ने उद्देश्यले गठन गरिएको निगरानी समूहले स्वास्थ्य चौकीको आन्तरिक व्यवस्थापन, औषधिको उपलब्धता, आन्तरिक तथा बाह्य सेवासुबिधाको बारेमा स्वास्थ्य चौकीका कर्मचारीहरुसँग स्थलगत अबलोकन र छलफल गरि अवस्थाको बारेमा तथ्यगत सूचनाहरु संकलन पनि गरेको छ ।
जनतालाई मौलिक अधिकारको प्रत्याभुति गरि सुशासनको प्रत्याभुतिका लागि जिल्लाका बिभिन्न सरकारी कार्यालयहरु तथा निकायको निगरानी गरि स्थानीय जनप्रतिनिधि सेवाप्रदायक संस्थालाई जिम्मेजवार जवाफदेहि र पारदर्शी बनाउन समूहले जनताको आधारभुत आवश्यकता रहेको स्वास्थ्य क्षेत्रलाई पहिचान गरि गरिएको निगरानी कार्यक्रमबाट भविष्यमा केहि सुधार हुने विश्वास जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला स्तरिय संयुक्त निगरानी समूहका संयोजक भट्टले व्यक्त गर्नु भयो ।
स्वास्थ्य चौकीमा प्रमुख समस्या खानेपानी रहेको छ भने शौचालयको सरसफाई तथा फोहर व्यवस्थापन, भवन मर्मत, औषधि अभावको व्यवस्थापन लगायतका केहि समस्याहरु तत्काल समाधान गर्न सकिने भएकोले सुधार गरि स्वच्छता कायम गरि सेवाग्राही मैत्रीपूर्ण बाताबरण बनाउन आवश्यक पहल गर्नु पर्ने निगरानी समुहले सुझाव सल्लाह दिएको छ ।
निगरानीका क्रममा स्वास्थ्य चौकीको सेवा सामान्य रहेको प्रतिक्रिया दिएका सेवाग्राहीले अमरगढी नगरपालिका क्षेत्रमा बर्थिङ सेन्टर र नमूना स्वास्थ्य चौककिो रुपमा रहेको सहश्रलिङ्ग स्वास्थ्य चौकीको सुधारका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको निगरानी समूहका उपसंयोजक तथा अमरगढी नगरप्रमुख संगिता भण्डारीले जानकारी दिनु भयो ।
निगरानी समूहले निकट भविष्यमा नै बिभिन्न विषयगत निकायहरुमा निगरानी गर्ने र जिल्लाका प्रत्येक स्थानीय तह स्तरिय समूह गठन गरि योजनाबद्ध तरिकाले आफ्नो आगामी कार्यक्रमलाई अगाडी बढाउने लक्ष्य लिएको नागरिक समाज डडेल्धुराको संस्थागत क्षमता अभिबृद्धिमा सहकार्य गर्दै आवश्यक सहयोग सहित सुशासनका क्षेत्रमा काम गरिरहेको प्रयासहरुलाई सार्थक बनाउन जनप्रतिनिधिलाई समेत सँगै लैजाने र सेवाप्रदायक संस्था तथा निकायको यतार्थ अवस्था चित्रणको प्रतिबेदनले जनप्रतिनिधिको दायित्व पनि झल्काउने र सेवाग्राहीले पनि आगामी दिनहरुमा अभाब र समस्याहरु झेल्न नपरोस भन्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुने छ ।
