डिल्लीराम भुषाल
कर्फ्यूका बेला कपिलवस्तुमा गोली लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । भारतीय नागरिक २२ वर्षीय सुरज पाण्डेको गोली लागेर मृत्यु भएको हो ।
लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच विवाद सुरु भएपछि कृष्णनगर क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मको लागि जिल्ला प्रशासन कार्यलयले कर्फ्यू आदेश जारी गरेको थियो । पाण्डेले कर्फ्यू उलंघन गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । तर गोली प्रहरीले चलाएको हो होइन भनी अनुसन्धान भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।
स्थानीयले भने प्रहरीको गोलीबाट पाण्डेको मृत्यु भएको बताएका छन् । गोली प्रहारबाट घटनास्थलमै पाण्डेको मृत्यु भएपछि स्थानीय उनको शव कुरेर बसेका छन् ।
मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।
