सुनसरी घटना. मृतकका परिवारले शव बुझ्न मानेनन्
सरकार र पीडित पक्षबीच सहमति भए पनि देवानगन्ज गोलीकाण्डका मृतकका परिवारले शव नबुझ्दा अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ।
अमरगढि पोष्ट सामाचार
श्रावण १५, पर्वत पोर्तेल बिहीवार राति गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीचको सहमति ।सरकार र पीडित पक्षबीच सहमति भए पनि सुनसरी गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।
स्थानीय असन्तुष्टि र विरोधका कारण अन्त्येष्टि प्रक्रिया अन्योलमा परेको छ भने प्रशासन सहमति कार्यान्वयन गर्न प्रयासरत छ।
घटनापछि क्षेत्रका विभिन्न स्थानमा हिंसा र प्रदर्शन जारी छन्।
विराटनगर — सरकारले बिहीबार राति औपचारिक सहमति गरे पनि सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेका छैनन्।
स्थानीयको विरोध र असन्तुष्टिका कारण शव लिन विराटनगर पुगेका आफन्त गाउँ फर्किएका हुन्। जसका कारण आज शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि अन्योलमा परेको छ। यद्यपि, प्रशासन र प्रहरीले सहमति कार्यान्वयन गराउने प्रयास जारी राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालले बताए।
गत आइतबार राति कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। यद्यपि प्रशासनले हवाइ फायर मात्र गरेको दाबी गरेको छ।
गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो।
दुवैको शव हाल न्युरो अस्पतालको शवगृहमा राखिएको छ। गृहमन्त्री सुधन गुरुङ र पीडित पक्षबीच बिहीबार राति सहमति भए पनि परिवारले फेरि शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन।पीडित परिवारका सदस्य दिलीप मेहताका अनुसार अन्य जिल्लामा मृत्यु भएका व्यक्तिका परिवारसँग पनि छलफल र सहमति भएपछि सबै शव एकैपटक बुझेर सामूहिक रूपमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। बिहीबार झडपकै क्रममा सिरहाको गोलबजारमा पनि एक जनाको गोली लागेर निधन भएको थियो ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगन्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कानुनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
सम्झौतापत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताका तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन्। सरकारका तर्फबाट गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका छन्। सहमतिमा शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गर्ने उल्लेख छ। तर अहिलेसम्म अन्त्येष्टिको प्रक्रिया अघि बढेको छैन।
घटनामा गोली लागेर १० जना घाइते भएका थिए। तीमध्ये ओमप्रकाश र जयप्रकाशको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार भइरहेको छ। घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए। प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन र हिंसा विभिन्न क्षेत्रमा फैलिँदै गएको छ।
