लक्ष्मी ऐर
डडेल्धुरा साउन १७ गते । देशका विभिन्न जिल्लामा देखापरेका धार्मिक असहिष्णुता तथा सामाजिक सदभाब खलबलिने गरि भईरहेका कृयाकलापका बिरुद्धमा डडेल्धुरामा सदभाब र्याली प्रर्दशन गरिएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघको अगुवाईमा आईतबार डडेल्धुराको बसपार्क बागबजारदेखि तुफानडाँडा सम्म सद्भाव र्याली प्रर्दशन गर्दे धार्मिक द्धन्द्ध सिर्जना नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै र्याली निकालिएको हो ।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा आपसी भाईचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना गरिएको संघले जनाएको छ ।
र्यालीको समापन गर्नुहुदै डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर महताले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण सम्बद्र्धन गर्न पाउने अधिकारको सुनिश्चितता गरिएकाले एक अर्का बिरुद्ध द्धन्द्ध सिर्जना गर्न नहुनेमा जोड दिनुभयो । पछिल्लो समय देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धार्मिक आस्था, जातीय तथा सामुदायिक सदभाब खलबल्याउने, हिंसा र द्वेष फैलाउने कुनै पनि गतिविधि संघका लागी स्वीकार्य हुन नसक्ने समेत स्पष्ट पार्नुभयो ।
सदभाब र्यालीमा उद्योगी–व्यवसायी, नागरिक समाज, राजनीतिक दल, सामाजिक तथा धार्मिक संघसंस्था, सञ्चारकर्मीहरु लगायतको सहभागितामा सामाजिक सद्भाव कायम राख्न समेत सबैमा आह्वान गरिएको छ ।



