मानबहादुर साँउद
डडेल्धुरा साउन १७ गते । झण्डै तिन बर्ष देखि सहकारीमा बचत गरेको रकम फिर्ता पाउन नसकेपछि डडेल्धुराका पिडित बचतकर्ताहरुले जिल्ला अदालत डडेल्धुरामा मु्द्धा दायर गरेका थिए । जुन मुद्धाको दुई बर्षपछि बल्ल फैसला भएको छ र पिडितहरुले न्यायको महसुस गरेका छन । डडेल्धुरामा रहेको शिबशिखर सहकारी संस्था लिमिटेडले झण्डै ६ हजार बचतकर्ताहरुको चालिस करोड भन्दा बढी निक्षेप संकलन गरेर हिनामिना गरेको थियो । आफुले बचत गरेको पैशा फिर्ता माग्न खोजेपछि तिन बर्ष अघि सहकारीले बिभिन्न बहाना बनाएर बचत फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालय बन्द गर्दे संचालक देखि कर्मचारीहरु फरार भएपछि बिचल्लीमा रहेका बचतकर्ताहरुले न्यायका लागी प्रहरी मार्फत जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।
काठमार्ण्डौको भक्तपुरमा केन्द्रीय कार्यालय स्थापना गरेको शिब शिखर सहकारी संस्था लिमिटेडले देशका १९ जिल्लामा ३७ वटा शाखा बिस्तार गरेर सहकारी र अत्याधुनिक मार्ट संचालन गर्दे सेवा बिस्तार गरेको थियो । झण्डै २२ अर्ब भन्दा बढी निक्षेप संकलन गरि हिनामिना गरेको उक्त सहकारीले सुदुरपश्चिम प्रदेशका कैलाली,कञ्चनपुर,डोटी र डडेल्धुराबाट मात्रै चार अर्ब भन्दा बढी रकम उठाएर ठगी गरेको गम्भिर आरोप लागेको छ ।
बचतकर्ताहरुको रकम ठगी गरेको अभियोगमा सहकारीका मुख्य संचालक केदारनाथ शर्मा लगायतका केही संचालकहरु पक्राउ परेपनि अधिकास संचालक देखि कर्मचारीहरु फरार अबस्थामा नै छन । डडेल्धुरा जिल्ला अदालतमा १०३४ जनाको जाहेरीका आधारमा सहकारीका पुर्ब केन्द्रीय अध्यक्ष मुख्य संचालक केदारनाथ शर्मा सहित जिल्ला र प्रदेशका कर्मचारी गरि १६ जनाका नाममा मुद्धा दायर गरिएको थियो । मुद्धा दायर भएपछि शर्मा गंगै अर्का संचालक अनिश भण्डारीले अदालतमा उपस्थित मुद्धाको डिफेन्स गरेका थिए भने अन्य १४ जना फरार नै छन । सहकारीबाट पिडित भएका डडेल्धुराका बचतकर्ताहरुले दएको जाहेरीका आधारमा शर्मा र भण्डारीलाई ६ बर्ष कैद सजाय ३० करोड ९४ लाख बिगो जरिमना सदर गर्दे बचतकर्ताहरुले दाबी गरेको रकम फिर्ता गर्नुपर्ने फैसला गरेको छ ।

यही साउन २३ गतेका दिन भएको जिल्ला अदालत डडेल्धुराको फैसलाले बचतकर्ताहरुमा केही आशा पलाएपनि सहकारीका संचालकहरुको सम्पती बेचबिखन गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने फैसला स्ुनाएको छ । जिल्ला अदालत डडेल्धुराका माननीय जिल्ला न्यायधिश अरुणकुमार कोईरालाको एकल इजलासले सहकारी पिडितको बचत रकम फिर्ता गर्नुपर्ने र रकम हिनामिना गरि ठगी गर्ने ब्यक्तिहरुलाई बिगो जरिमना र जेल सजायको फैसला गरेको छ ।
फरार रहेका प्रतिबादीहरुका बिषयमा भने मुद्धतलबीमा राखेको छ । शिबशिखर सहकारी डडेल्धुराका प्रबन्धक डम्बराज पनेरु,क्षेत्रिय प्रबन्धक हेमराज जोशी लगायतका अन्य कर्मचारीहरु फरार सुचीमा छन उनीहरुको मुद्धालाई मुलतबीमा राखेको डडेल्धुरा अदालतका श्रेस्तेदार गणेशबहादुर बिष्टले जानकारी दिनुभयो ।
जाहेरीकर्ताहरुको मागदाबीका आधारमा झण्डै ३१ करोड रुपैया बिगो जरिमना सहित ६ बर्षका लागी शर्मा र भण्डारीलाई जेल सजायको फैसला भएको श्रेष्तेदार बिष्टको भनाई थियो । डडेल्धुरामा ४० करोड भन्दा बढी निक्षेप संकलन गरिएको दाबी गरिएपनि केही ब्यक्तिहरुले जाहेरी नदिएका कारण ३१ करोड रुपैयाको माग दाबी गरिएको हो । केही बचतकर्ताहरुले रकम जम्मा गरेको तर कागजात हराएका कारण र केही ठुला बचतकर्ताहरुले पैशा फिर्ता हुने आश नभएको भन्दै जाहेरी र निबेदन दर्ता नगरेपछि बचतकर्ताको रकम घटेको अनुमान गरिएको छ । पछिल्लो समय सरकारले केही साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने अभियान थालेको छ ।
१० हजार भन्दा कम बचत भएका बचकर्ताहरुको रकम समस्याग्रस्त सहकारीले फिर्ता गरिरहेको छ भने अन्य बचतकर्ताहरुको रकम फिर्ताका लागी सहकारीहरुको रिण लगानी उठाईरहेको र सम्पती समेत बेचबिखन गरि फिर्ता गर्ने प्रयासमा लागीरहेको भनिएपनि प्रभाबकारी भने हुन सकेको छैन ।
देशभर झण्डै २४ वटा सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेर समस्याग्रस्त घोषणा गरि आत्मासमर्पण गरेपछि सरकारले आफ्नो मातहत ल्याईसकेको छ भने उनीहरु बिरुद्ध मुद्धा दायर समेत गरिरहेको छ । झण्डै देशभर ८६ अर्ब भन्दा बढी रकम हिनामिना गरि फरार रहेका सहकारीका संचालकहरुबाट असुलउपर गरेर कहिले सम्म बचतकर्ताहरुको पैशा फिर्ता हुने त्यो भने सरकारमा निर्भर रहने देखिन्छ ।



